भ्रष्टाचार अनियमितताको अन्त्य गर्न ख्वप बिश्व बिद्यालयको अवधारणा ल्याएको : बिजुक्छें
भक्तपुुर, २५ कार्तिक । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले शैक्षिक क्षेत्रमा देखिएका भ्रष्टाचार अनियमितताको अन्त्य गर्न ख्वप बिश्व बिद्यालयको अवधारणा ल्याएको बताए ।
वागीश्वरी मा.वि.को अन्ठाउन्नौं र कलेजको नवौं वार्षिक उत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै बिजुक्छेंले बिद्यार्थीहरुलाई राजनीतिक रुपमा सचेत गराउँदै लान सके शैक्षिक क्षेत्रको बिकास समेत हुने बताए ।
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं सांसद अनुराधा थापामगरले शिक्षा नियमावलीले निजी विद्यालय र शैक्षिक माफियाहरुलाई चलखेल गर्न दिएको र शिक्षा र स्वास्थ्य क्षेत्रमा सरकारले भारतीय एकाधिकार पूँजीलाई समेत फाइदा पुग्ने काम गरेको बताइन् ।
वागीश्वरी कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले देशको कूल बजेटको चौबीस प्रतिशत शिक्षा क्षेत्रमा लगानी गरे शिक्षा क्षेत्र सम्पूर्णतः निःशुल्क बनाउन सक्ने बताए ।
त्यस्तै भक्तपुरका जिल्ला शिक्षा अधिकारी अर्जुन बहादुर रायमाझीले जिल्ला शिक्षा कार्यालय भक्तपुरबाट प्राप्त गरिव तथा जेहेन्दार र दलित छात्रवृत्ति प्रदान गर्दै बाइस बुँदे कार्यक्रमलाई लागु गर्न जोड दिए ।
कार्यक्रममा वागीश्वरी अगुवा स्रोतकेन्द्रका विद्यालय निरिक्षक विमल प्रसाद निरौला, नेपाल क्रान्तिकारी शिक्षक संघका केन्द्रीय कोषाध्यक्ष चक्र बहादुर चाकतु, ख्वप कलेजका प्राचार्य रुपक जोशी, सार्वजनिक मा.वि. संयुक्त परीक्षा समितिका प्रतिनिधि अम्बिका न्याइच्याई, विद्यार्थी प्रतिनिधिहरु शेरफ मोक्तान, सम्झना गोसाईलगायतले विद्यालयको प्रगतिको कामना गरेको उक्त कार्यक्रममा कलेज प्राचार्य धनकुमार श्रेष्ठ र मा.वि. प्रधानाध्यापक कृष्णप्रसाद धन्छाले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा एस.एल.सी., दश जोड दुई र स्नात्तकका स्वर्णपदक विजेताहरुलाई पदक तथा पुरस्कार र विद्यालयमा पच्चीस बर्षभन्दा बढी सेवा गरेबापतको दीर्घसेवा पदकबाट सम्मानित प्रधानाध्यापक कृष्णप्रसाद धन्छा, सहायक प्रधानाध्यापक ज्ञानसागर प्रजापति, शिक्षक दामोदर सुवाल र विशवराम प्रजापतिलाई सम्मान गरिएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रविन्द्र ज्याख्वको सभापतित्वमा भएको उक्त कार्यक्रममा विद्यार्थीहरुलाई सिद्धिबहादुर स्मृति अक्षय कोष छात्रवृत्ति, नारायणी छात्रवृत्ति, शिक्षक कर्मचारी छात्रवृत्ति कोषबाट छात्रबृत्तिसमेत विभिन्न अतिथिहरुबाट वितरण गरेका छन् । वार्षिकोत्सव मूल समारोह समितिका संयोजक विश्वराम प्रजापतिले स्वागत गरेको उक्त कार्यक्रमको दोश्रो चरणमा विद्यार्थीहरुबाट साँस्कृतिक गतिविधिहरु प्रस्तुत गरेका छन् ।