पाँच सय र एक हजारका भारतीय नोट नसाट्न राष्ट्रबैंकको निर्देशन
काठमाडौं, २४ कार्तिक । नेपाल राष्ट्र बैंकले तत्कालका लागि पाँच सय र एक हजारका भारतीय नोट नसाट्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ ।
आज बिहान बसेको राष्ट्र बैंक व्यवस्थापन समितिको आपतकालिन बैठकले पाँच सय र एक हजारका भारतीय नोट नसाट्न बैंक तथा वित्तिय संस्थालाई परिपत्र जारी गरेको राष्ट्र बैंकका सहायक प्रवक्ता राजेन्द्र पण्डितले जानकारी दिनुभयो ।
आज दिउँसो भारतीय रिजर्भ बैंकका उच्च अधिकारीहरुसँग छलफल गरेपछि मात्र कहिलेदेखि कहिलेसम्म नेपालमा रहेका चलनचल्तीका भारतीय नोट सटही सुविधा दिने भन्ने बारेमा निर्णय गर्ने पण्डितले बताउनु भयो ।
रिजर्भ बैंकले सहटी गरेको मुद्राको व्यवस्थापन गर्छु भनेर ग्यारेन्टी दिएपछि मात्रै भारु सटही सुविधा उपलब्ध गराउने राष्ट्र बैंकले जनाएको छ ।
जाली नोटको कारोबार व्यवस्थापनका लागि भारत सरकारले गएराति देखि नै लागु हुने गरी एक हजार र पाँच सयको नोटमा पूर्ण रुपमा प्रतिबन्ध लगाएको छ । नेपालमा पनि ठूलो परिमाणमा भारुको प्रयोग हुने भएकाले उक्त निर्णयले प्रत्यक्ष प्रभाव परेको हो ।