क्लिन्टनमाथि ट्रम्पको महत्वपूर्ण अग्रता
एजेन्सी, २४ कार्तिक । अमेरिकामा भएको ४५ औं राष्ट्रपति निर्वाचनमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प विजयी हुने सम्भावना बलियो देखिएको छ ।
मत परिणाम आउने क्रम जारी छ । ट्रम्पले आफ्नो प्रतिद्वन्द्वी डेमोक्रेटिक हिलरी क्लिन्टनलाई पछि पारेका छन् । साथै मत गणना भइरहेको निर्णायक मानिएका प्रमुख राज्यहरुमा ट्रम्पले नै अग्रता लिइरहेका छन् ।
बीबीसीका अनुसार ५० राज्यमध्ये ४१ को मत परिणाम आएको छ । राष्ट्रपति निर्वाचित हुन आवश्यक २७० इलेक्टोरल मतमध्ये हालसम्म ट्रम्पले २४४ इलेक्टोर भोट र हिलरीले २०९ भोट रहेको छ ।
लसएन्जलस टाइम्सकाअनुसार एरिजोना, विसकनसिन, मिसिगन र न्यूह्यामशायरमा ट्रम्प अगाडि छन् । हिलरी भने नेवाडा, मिनिसोटा, मेनमा मात्र अगाडि छन् ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार अब एरिजोना, मिसिगन र पेन्सलभेनिया राज्य निर्णायक देखिएको छ । एरिजोनामा ११ र मिसिगनमा १६ मत छ । पेन्सलभेनियामा २० इलेक्टोरल भोट छ । यी राज्यमा जो विजयी हुन्छ, त्यही उम्मेदवार राष्ट्रपति बन्ने सम्भावना छ ।
मिसिकनमा १९८८ पछि रिपब्लिकन पार्टीका कुनै पनि उम्मेदवारले जित हासिल गर्न सकेका थिएनन् ।