राष्ट्रपति प्रधानमन्त्रीलगायतले दिए छठ शुभकामना
काठमाडौं, २१ कार्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वले सबै नेपालीमा राष्ट्रिय एकता, अखण्डता, मेलमिलाप र सहमति कायम गर्दै नेपालको संविधान कार्यान्वयन गर्ने दिशामा अघि बढ्न प्रेरणा मिलोस् भन्ने कामना गरेकी छन् ।
सूर्य देवता र छठ माताको पूजाआराधना गरी मनाइने नेपालीको महान् पर्व छठका अवसरमा शुभकामना दिँदै राष्ट्रपतिले स्वदेश तथा विदेशमा रहेका सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, आपसी सद्भाव, एकता र उत्तरोत्तर प्रगतिको कामनासमेत गरेकी छन् ।
त्यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले छठ पर्वका माध्यमबाट नेपालीबीच सद्भाव, सहिष्णुता, भ्रातृत्व र बलियो एकता अभिवृद्धि हुने विश्वास व्यक्त गरेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालले देशविदेशमा रहेका सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गर्दै सूर्य उपासनाको छठ पर्वले राष्ट्र निर्माणमा एकजुट भएर लाग्न प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन् ।
प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि नेपाली जनताबीच एकता र आत्मीयता आवश्यक रहेको बताएका छन् । उनले छठका अवसरमा दिएको शुभकामना सन्देशमा छठले हरेक जात, धर्म, क्षेत्र र समुदायका नेपालीलाई एकताको सूत्रमा उनेर प्रगतिको बाटोमा बढ्न प्रेरणा मिलोस् भन्ने शुभकामना पनि व्यक्त गरेका छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक पद्धतिमा मात्र सबै धर्मको संरक्षण हुने भएकाले लोकतन्त्र संवद्र्धन र संरक्षणमा सबैको सहयोग, सद्भाव र एकता आवश्यक रहेको बताएका छन् ।