बर्दिया राष्ट्रिय निकुञ्जमा पर्यटक बढ्दै
हिउँदको आगमनसँगै बर्दिया राष्ट्रिय निकुञ्जमा आउने आन्तरिक र विदेशी पर्यटकको संख्या बढ्दै गएको छ ।
निकुञ्जमा दसैंअघिबाट पर्यटकको चाप दैनिक बढ्न थालेपछि पर्यटन व्यवसायी उत्साहित हुन थालेका छन् । ठाकुरद्वारास्थित पर्यटकीय होटलमा भारत, बेलायत, फ्रान्स, अमेरिकालगायत मुलुकबाट आएका पर्यटकको संख्या दैनिक बढ्दै गएको व्यवसायीको भनाइ छ । भदौको अन्तिम सातासम्म सुनसान हुने निकुञ्जमा अहिले दैनिक डेढ सयसम्म आन्तरिक र ५० बढी विदेशी पर्यटक भित्रिरहेका छन् ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत रमेशकुमार थापाले विदेशी पर्यटक एक सातासम्म बस्ने गरेको जनाए । ‘वर्षमा करिब ५ हजार विदेशी पर्यटक आउने गरेका छन्,’ उनले भने, ‘यो वर्ष पर्यटकको संख्या अझ बढी हुने अनुमान छ ।’
यो वर्ष बन्द हडताल नभएका कारण पर्यटक उल्लेखनीय रूपमा बढ्ने आशा छ । ठाकुरद्वाराका पर्यटन व्यवसायी रामजी थापाले असोज महिनायता भारत तथा तेस्रो मुलुकबाट आउने पर्यटकको संख्या दैनिकजसो बढ्दै गरेको जानकारी दिए । तेस्रो मुलुकका विदेशी पर्यटकले यो महिना होटल बुक गरेकाले पर्यटक अझै बढ्ने आशा रहेको उनको भनाइ छ । भारत उडिसाबाट आएका पर्यटक दीपक बन्धपाध्याले बर्दिया निकुञ्जमा विभिन्न विविधताले आफू रोमाञ्चित भएको बताए । लखनउबाट आएका पर्यटक नरेश शुक्लाले निकुञ्जको प्राकृतिक सौन्दर्यताले यहाँ धेरै समय बिताउन मन लागेको बताए । पर्यटक आउन थालेपछि व्यवसायी होटल सजावट, अतिथि सत्कार, पर्यटक व्यवस्थापनलगायतका काममा व्यस्त छन् ।
जंगल कटेजका सञ्चालक खड्गबहादुर खड्काले दसैं सुरु भएयता भारतीय र विदेशी पर्यटकले होटल खाली नभएको बताए । उनले गत वर्ष यसै मौसममा बन्द हडतालले पर्यटन व्यवसाय प्रभावित रहेको जनाउँदै यस वर्ष उत्साहित भएको बताए । ‘यस वर्ष छिट्टै सिजन सुरु भएकाले पर्यटकहरू अघिल्ला वर्षभन्दा बढ्ने अपेक्षा छ,’ उनले भने, ‘आन्तरिक पर्यटकको समेत चाप अघिल्ला वर्षभन्दा बढी छ ।’