खड्गजात्रा सम्पन्न

भक्तपुर न्यूज

२६ असोज २०७३ ७:४८

काठमाडौँ, २६ असोज । काठमाडौँको उत्तरी भेग टोखामा प्रत्येक वर्ष आश्विन शुक्ल एकादशीका दिन गरिने खड्ग (तरबार) जात्रा आज गरिएको छ ।

त्यस क्षेत्रमा रहेका दानवीय शक्तिले सर्वसाधारण मानिसलाई दुःख, कष्ट दिन नपाओस् भनी यस किसिमको जात्रा निकाल्ने गरिन्छ ।

जीवित देवी कुमारी र गणेशलाई विशेष किसिमको सिङ्गार गरी स्थानीय तलेजु मन्दिरमा ल्याएपछि त्यहीँबाट जात्रा सुरु भएको थियो । सो जात्रा त्यहाँका स्थानीय टोल तथा नगर परिक्रमा गरी सम्पन्न भएको थियो ।

प्राचीन समयमा उक्त स्थानमा मानव बस्ती बसाउने क्रममा दानवीय शक्तिसँग झै झगडा भएपछि दानवीय तथा खराब शक्तिलाई पराजीत गरेपछि सो जात्राको प्रचलन सुरु गरिएको स्थानीय बूढापाका बताउँछन् ।

बाँसभित्र खड्गलाई लुकाइएको जात्रामा स्थानीय बूढापाकाले हातमा खड्ग लिएर दानवीय शक्तिलाई लखेट्ेको अभिनय समेत गरिएको थियो ।

संस्कृतिविद् हेमराज श्रेष्ठले सो जात्रा कहिलेदेखि सुरु भएको यकिनका साथ भन्न नसकिए पनि परापूर्व कालदेखि नै अभ्यासमा रहेको जानकारी दिँदै जात्रामा सहभागी भए दुःख नाश भई सुख तथा समृद्धि प्राप्त हुने बताउनुभयो ।

स्थानीयवासी मनिराज डङ्गोलले मानव समाज संरक्षणका लागि सो जात्रा विकास भएको बताउँदै अहिले गुठी संस्थानबाट जात्राका लागि आवश्यक सहयोग उपलब्ध गराउनका लागि प्रयत्न भइरहेको बताउनुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *