बैतडी– काठमाडौँ एसी बस सञ्चालन
बैतडी, २० असोज । महाकाली सेती यातायात व्यवसायी समितिले पहिलोपटक बैतडी– काठमाडौँ एसी (वातानुकूलित) बस सेवा सुरु गरेको छ ।
यात्रुको मर्कालाई तथा दसैँ तिहारलाई ध्यानमा राखी आजदेखि बैतडी– काठमाडौँ एसी बस सञ्चालनमा ल्याइएको महाकाली सेती यातायात व्यवसायी समितिका महासचिव विष्णु कँडेलले जानकारी दिनुभयो । बसमा फ्रि वाइफाइ, खाना, पानी र पत्रिकाको समेत व्यवस्था छ ।
“लामो यात्रामा यात्रुलाई समस्या भएपछि एसी बस सञ्चालन गरेका हौँ,” महासचिव कँडेलले भन्नुभयो । बैतडीबाट दैनिक एउटा बस बिहान ७ बजे सदरमुकाम गोठलापानीबाट तथा काठमाडौँबाट बिहान ११ बजे गङ्गबु बसपार्कबाट छुट्ने समितिले जनाएको छ ।
बैतडीबाट काठमाडौँको भाडा प्रतियात्रु रु दुई हजार ४३० तोकिएको छ । हाललाई बैतडी–काठमाडौँ छ वटा एसी बस सञ्चालन भए पनि छिट्टै थप छ वटा बस थप्ने तयारी समितिले गरेको छ । यस्तै समितिले बैतडी–महेन्द्रनगरसम्म समेत पहिलोपटक एसी बस सञ्चालनमा ल्याएको छ । बैतडी र महेन्द्रनगरबाट हरेक दिन साँझ ५ बजे बस छुट्ने छ भने भाडादर प्रतियात्रु रु ६४५ कायम गरिएको छ ।
सदरमुकाममा अवस्थित बसपार्कमा यात्रु प्रतिक्षालय नहँुदा यात्रुलाई समस्या भएको छ । लामो समयपछि बसपार्क सञ्चालनमा आए पनि यात्रु प्रतिक्षालय नहुँदा यात्रुलाई समस्या भएको बताइएको छ ।