बागलुङमा विद्युतीय रिक्सा बन्द

भक्तपुर न्यूज

१८ भदौ २०७३ ९:३७

बागलुङ, १८ भदौ । अनाधिकृत रुपमा चलेका विद्युतीय रिक्सालाई स्थानीय प्रशासनले बन्द गराएको छ । तीन महिनादेखि कागजातबिना चौध विद्युतीय रिक्सा बागलुङ बजारमा सञ्चालित थिए । ‘रुट परमिट’, दर्ता र चालक अनुमतिपत्र समेत नभएपछि रिक्सा बन्द गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

riksaविद्युतीय रिक्सा चलाउन अन्य सवारी साधनको जस्तै कानुनी प्रक्रिया पूरा गर्नुपर्ने व्यवस्था छ । रिक्साले सर्वसाधारणलाई सुविधा दिए पनि अनाधिकृत रुपमा चलेकाले बन्द गराउनुपरेको ट्राफिक प्रहरी कार्यालयका सहायक प्रहरी निरीक्षक कुलबहादुर हरिजनले बताउनुभयो ।

कानुनी प्रक्रिया पूरा गरेर आएमा रिक्सालाई सहज रुपमा सञ्चालन गर्न दिइने उहाँको भनाइ छ । बागलुङ कालिकाभगवती यातायात प्रालिले सुरुमा तीन वटा विद्युतीय रिक्सा बागलुङमा ल्याएको थियो । पछि राम्रो चल्ने र आम्दानी पनि हुने देखेर अन्य व्यवसायीले रिक्सा खरिद गरेर सञ्चालन गर्दै आएका थिए ।

रिक्सा धनीले भने आफ्नो दैनिक रोजीरोटीको बाटो बन्द भएको प्रतिक्रिया दिएका छन् ।

बागलुङमा विगत साढे दुई वर्षदेखि चालक अनुमतिपत्र वितरण रोकिएपछि नयाँ चालक मर्कामा परेका छन् । विद्युतीय रिक्सा लगायतका कुनै पनि सवारी साधानको चालक अनुमतिपत्र वितरण गरिएको छैन । पूर्वाधार र जनशक्ति अभावका कारण देखाउँदै यातायात व्यवस्था कार्यालय बागलुङले चालक अनुमतिपत्र वितरण रोकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *