म्याग्दीमा बाढीले ११ घर बगायो

भक्तपुर न्यूज

१७ भदौ २०७३ ३:१७

mygdi१७ भदौ, म्याग्दी । गएराति परेको वर्षाका कारण आएको बाढीले म्याग्दीको बेग–६ मा ११ वटा घर बगाएको छ । बेनी–जोमसोम सडकखण्ड नजिकै रहेको बेगखोला बस्तीमा खहरेखोलामा आएको बाढीले ११ वटा घर बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बाढीले बेगखोलामै रहेको बेनी–जोमसोम सडकमा बनाइएको बेलिब्रिज र झोलुङ्गेपुलसमेत बगाएको घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकेन्द्र सिङ गुरुले जानकारी दिए ।

राति एक्कासी आएको बाढीले बस्ती नै बगाए पनि स्थानीयवासीले भागदौड गरी ज्यान जोगाएका थिए । प्रहरीका अनुसार स्थानीयवासी प्रसाद सिञ्जाली सम्पर्कविहीन बनेका छन् । बस्तीमा बाढी पसेर पूरै बगरमा परिणत भएको छ । बाढीबाट जोखिममा रहेका अन्य चार घरका परिवारलाई पनि त्यहाँबाट अन्यत्र सार्ने काम भइरहेको प्रहरी निरीक्षक गुरुले बताए । अहिले स्थानीयवासी र प्रहरीले घटनास्थलमा बेपत्ता भएका व्यक्तिको खोजी तथा सामान सुरक्षित स्थानमा सार्ने काम गरिरहेका छन् ।

यसैबीच नेपाल रेडक्रस सोसाइटीका सभापति लेखबहादुर हमालको नेतृत्वमा एक टोली बाढी प्रभावितको राहतका लागि राहत सामग्री लिएर त्यसतर्फ गएको छ । बाढीको विस्तृत क्षतिको विवरण सङ्कलन भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *