पुनरागमन खेलमा अर्जेन्टिनाका लागि मेसीको गोल
लियोनेल मेसीले अर्जेन्टिनाका लागि पुनरागमन गरेको खेलमा उरुग्वेविरुद्ध गोल गर्न सफल भएका छन् । सन् २०१८ को विश्वकप छनौट अन्तरगत आज बिहान भइरहेको सातौं चरणको खेलका क्रममा मेसीले पहिलो हाफको अन्तिम समयमा गोल गरेका हुन् ।
बलियो प्रतिद्वन्द्वविरुद्ध मेसीले डी बक्स भन्दा बाहिरबाट उरुग्वेका डिफेन्डरलाई झुक्याउँदै प्रहार गरेको बलले सिधै जाली चुमेको थियो । यो सँगै मेसीले अर्जेन्टिनाका लागि गोल संख्या ५६ पुर्याएका छन् । उनी नै अर्जेन्टिनाका लागि सर्वाधिक गोल गर्ने खेलाडी पनि हुन् । तर, मेसीले गोल गरेको तीन मिनेट नबित्दै पाउलो ड्योब्ला रातो कार्ड खाँदै बाहिरिएपछि १० खेलाडीमा सीमित भएकाले अर्जेन्टिना दबाबमा परेको छ ।
अमेरिकामा २७ जुलाईमा भएको कोपा अमेरिकाका फाइनलमा चिलीसँग पराजित हुँदै कोपा अमेरिकाको उपाधि गुमाएपछि मेसीले अर्जेन्टिनाबाट सन्यासको घोषणा गरेका थिए ।