काठमाडौं । हरेक रात १० देखि ११ बजेभित्र सुत्ने व्यक्तिमा मुटु सम्बन्धी समस्या कम हुने एक अध्ययनमा देखिएको छ । ८८ हजार भन्दा बढीमा गरिएको अध्ययनबाट राति नियमित रुपमा १० देखि ११ बजेभित्र सुत्नेहरुमा मुटु स्वास्थ्य राम्रो हुने देखिएको हो ।
युके बायोब्यांकका अनुसन्धानकर्ताहरुले सुत्ने समय र ‘बडी क्लक’ बीच तालमेल मिलाउँदा हृदयघात तथा स्ट्रोकसहितको जोखिम कम हुने देखिएको उल्लेख गरेका छन् ।
स्वस्थ्य र सचेतनाका लागि शरीरको २४ घण्टे चक्र महत्वपूर्ण हुन्छ । बडी क्लकको सम्बन्ध रक्तचापसँग पनि हुने हुँदा तालमेल महत्वपूर्ण मानिन्छ ।
युरोपियन हार्ट जर्नलमा प्रकाशित भएको अनुसन्धानका लागि अध्ययनकर्ताहरुले सहभागीहरुको सुत्ने र उठ्ने समयको तथ्यांक सात दिनसम्म लिएका थिए । उनले ६ वर्षको अवधिमा सहभागीहरुको मुटु तथा स्वासप्रस्वास सम्बन्धी स्वास्थ्यको अवस्था के कस्तो रह्यो भनेर हेरेका हुन् ।
सहभागी भएका मध्ये मात्रै तीन हजार भन्दा केही बढीमा मुटु सम्बन्धी समस्या विकास भएको पाइएको हो । यस्तो समस्या देखिनेमा अधिकांश व्यक्ति १०–११ भन्दा पछि वा अघि सुत्नेहरु रहेको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।
सुत्ने समय र नियमित सुत्ने समय निरन्तरताको विश्लेषण गरी अध्ययनको निष्कर्ष निकालिएको हो । मुटु रोगका अरु कारकहरुबारे पनि नजर राखिएको भए पनि अध्ययनमा सुत्ने समयलाई नै मुख्य केन्द्रमा राखिएको प्रमुख अनुसन्धानर्कता डा. डेविड प्लान्सले बताएका छन् ।
युनिभर्सिटी अफ एक्सेटरका डा. प्लान्सका अनुसार आफूहरुको अध्ययनबाट आएको निष्कर्षको कारकबारे भन्न नसकिए पनि चाँडो वा ढिलो सुत्दा बडी क्लक प्रभावित हुने देखिएको हो ।
बडी क्लक प्रभावित हुँदा कार्डियोभास्कुलर हेल्थमा प्रभाव पर्छ । दैनिक सातदेखि ९ घण्टा सुत्नाले स्वास्थ्यमा राम्रो प्रभाव पर्ने र दीर्घजीवनका लागि सहयोगी सिद्ध हुने देखिएको हो ।
Comments