काठमाडौं । भारतमा पोस्ट कोभिडका बिरामीमा साइटोमिगलो भाइरस देखिएको छ । पाँच जनामा साइटोमिगलो भाइरसका कारण दिसामा रगत देखिएका बिरामी दिल्लीको सर गङ्गाराम अस्पताल आइपुगेको भारतीय सञ्चारमाध्यम इन्डियाटिभीन्युज डटकमले जनाएको छ ।
सर गङ्गाराम अस्पतालका प्राध्यापक अनिल अरोडाका अनुसार कोरोना भाइरसको सङ्क्रमण भएको २० देखि ३० दिनपछि पेट दुखेको तथा दिसामा रगत आएको गुनासोसहित बिरामीहरू अस्पताल आएका हुन् ।
परीक्षणपछि उनीहरूमा साइटोमिगलो भाइरसको सङ्क्रमण पुष्टि भएको थियो । पाँच जना सङ्क्रमित सबै दिल्लीका थिए र उनीहरूको उमेरसमूह ३० देखि ७० वर्ष रहेको छ । तीमध्ये चार जनाले दिसामा रक्तस्राव भएको र एक जनाले आन्द्रामा अवरोध भएको गुनासो गरेका थिए । कमजोर रोगप्रतिरोधक क्षमता भएका व्यक्तिलाई उक्त भाइरसको सङ्क्रमण हुन सक्छ ।
रिपोर्टका अनुसार कोभिड सङ्क्रमण र उपचारमा प्रयोग गरिएका औषधिको प्रयोग असामान्य सङ्क्रमणको लागि जिम्मेवार हुनसक्छ, जसमध्ये एक साइटमिगलो भाइरस हो । यो भाइरस भारतीय जनसङ्ख्याको ८० देखि ९० प्रतिशत मानिसमा अवस्थित छ । तर, शारीरिक प्रतिरोधात्मक क्षमता बलियो भएका कारण लक्षण देखिँदैन र रोग भएपनि एसिम्प्टोम्याटिक हुनसक्छ ।
प्रकाशित मितिः २०७८ असार १५ मंगलबार
Comments