काठमाडौं । कोभिड १९ र फ्लू दुबै श्वासप्रश्वासबाट सर्ने रोग हो जुन लगभग समान तरिकाले प्रसारित हुन्छन् ।
कोरोना भाइरस, फ्लूको भाइरसभन्दा छिटो र सजिलो तरिकाले प्रसारण हुन्छ र गम्भीर रोग निम्त्याई मृत्युको कारणसमेत बन्न सक्छ । कोरोना भाइरसको सङ्क्रमण हुँदा ज्वरो, खोकीसहितका देखिने लक्षण फ्लूसँग पनि मिल्ने हुँदा फ्लू र कोभिडलाई छुट्याउन गाह्रो हुन्छ ।
रोग नियन्त्रण तथा रोकथाम केन्द्र सिडिसीका अनुसार, ज्वरो, नाकबाट पानी बग्ने, थकान, गन्धको क्षमता हराउने, घाँटी दुख्ने, टाउको दुखाइ, मांसपेशी दुख्ने वा शरीर दुख्ने कोभिड र फ्लूको केही सामान्य र समान लक्षण हुन् । फ्लू भाइरसले हल्कादेखि गम्भीर रोग निम्त्याउन सक्छ, जसलाई अस्पतालमा भर्ना नगरी पनि उपचार गर्न सकिन्छ ।
तर, कोभिडले स्वास्थ्यमा गम्भीर जटिलता निम्त्याउनुका साथै बिरामीको ज्यानसमेत जान सक्छ । सिडिसीका अनुसार फ्लूबाट पीडित व्यक्तिले सङ्क्रमण भएको एकदेखि चार दिनसम्म लक्षण विकास गर्न सक्छन् । कोरोना भाइरसबाट सङ्क्रमित भएको व्यक्तिले सङ्क्रमण भएको पाँच दिनपछि लक्षणहरू अनुभव गर्न थाल्छ ।
कहिलेकाहीँ सङ्क्रमण भएको दुई दिनपछि वा १४ दिनपछि पनि लक्षण देखा पर्नसक्छ । कोभिड र फ्लूबीच हुने केही भिन्नताको आधारमा कोभिड भएको वा सामान्य फ्लू भएको भनेर छुट्याउन सकिन्छ । यस्ता छन् फ्लू र कोभिड छुट्याउने केही आधार ?
– सास फेर्न गाह्रो हुनु धेरैजसो कोभिड हुँदा देखिन्छ ।
– कोरोना भाइरसको सङ्क्रमण हुँदा गन्ध वा स्वादको भावना हराउने हुन्छ । तर, फ्लू भएमा यो लक्षण निकै कममा देखिन्छ ।
– बिरामी भएको महसुस हुने वा वाकवाकी हुने कोभिडसँग धेरै सम्बन्धित हुन्छ ।
– सामान्य फ्लू हुँदा झाडापखाला हुने सम्भावना पनि निकै कम हुन्छ ।
प्रकाशित मितिः २०७८ बैशाख १३ सोमबार
Comments