डोटी । डोटीको आदर्श गाउँपालिका–१ बाझककानी गाउँमा गए राति घर भत्किँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ भने पाँच घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटी अनुसार घर भत्किएर मृत्यु हुनेमा विष्ना लुहार, निजका छोरा पारस, छोरीहरू सिरु र जेनिसा छन् ।
घाइते हुनेमा घर मालिक लोगे लुहार, निजकी आमा पाना, सासु घाङरी विक, सालो इन्द्र विक तथा छोरी अस्मिता लुहार रहेका छन् । घाइते लोगे, पाना, घाङरी तथा इन्द्रको अवस्था गम्भीर रहेको र अस्मिताको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । घाइतेलाई उपचारका लागि डोटीको दिपायलमा रहेको शैलेश्वरी अस्पतालमा ल्याइएको छ ।
सिलेटले छाएको तीनतले घरमा राति सुतिरहेको बेला अचानक घर भत्किँदा उनीहरुको ज्यान गएको प्रहरीले जनाएको छ ।
प्रकाशित मितिः २०७७ साउन २७ मंगलबार
Comments