भक्तपुर । भोलि बिहीबारबाट सुरु हुने भक्तपुरको विश्व प्रशिद्ध ऐतिहासिक बिस्का जात्रा कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै औपचारिक पूजामा मात्र सीमित गर्ने निर्णय भएको छ ।
विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोभिड १९ कोरोना भाइरस संक्रमणलाई मध्यनजर गर्दै भक्तपुर नगरपालिकाले जात्रासंग आज सम्वन्धित सम्पूर्ण सरोकारवालासंग छलफल गरेर यस बर्ष बिस्का जात्रालाई औपचारिक पूजामा सीमित गर्ने निर्णय लिएको हो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोभिड १९ भाइरसबाट विश्व भरी ८२ हजार भन्दा बढीको ज्यान गईसकेको र १४ लाख भन्दा बढी संक्रमण भैसकेको अवस्थालाई मध्यनजर गरी जात्रामा हुन सक्ने सम्भावित जोखिमबाट बच्नको लागि यसपालीको बिस्का जात्रा भीडभाड नगरी औपचारिक पूजामा मात्र सीमित गर्ने निर्णय बैठकले लिएको जानकारी दिए।
उनले लकडाउनको अवधिभरी घरभित्र सुरक्षित रहन पनि आग्रह गर्नुभयो । प्रमुख प्रजापतिले कोभिड १९ कोरोना भाइरस विश्वभर संक्रमण बढी रहेको अवस्थालाई मध्यनजर गरी सरकारले लकडाउन गरिरहेको समय बैशाख ३ गते सम्म तोकिएको बताउदैँ सोही अवधि भित्र बिस्का जात्रा भएकोले औपचारिक पूजामा मात्र सीमित गर्ने निर्णय भएकोले आवश्यक काममा बाहेका घरबाट बाहिर ननिस्कन आग्रह गरे ।
भक्तपुरका जनतालाई कोरोना भाइरस संक्रमण जोखिमलाई ध्यानमा राखेर यो बर्षको बिस्का जात्रा घरमै बसी पूजा गर्न पनि आग्रह गर्ने निर्णय बैठकले लिएको छ । परम्परा देखि चलिआएको जात्रा भैलख तान्ने, योसीँ उठाउने दाल्ने, टोलटोलमा हुने सम्पूर्ण जात्रा यो बर्ष कुनै पनि देवीदेवताहरु देवघर तथा मन्दिरबाट बाहिर ननिकाल्ने र मन्दिर तथा देवघर द्यःछेँ भित्रै औपचारिक सामान्य पूजा गरि बिस्का जात्रा मनाउने गर्ने निर्णय पनि बैठकले गरेको छ ।
नगर प्रमुख सुनिल प्रजापतिको सभापतित्वमा बसेको बैठकमा प्रमुख जिल्ला अधिकारी हुमकाला पाण्डे, महानगरीय प्रहरी परिसर भक्तपुरको प्रहरी उपरीक्षक सविन प्रधान, भनपाको वडाअध्यक्षहरु, गुठी संस्थानका प्रमुख, सबै जात्राका सम्वन्धित प्रतिनिधिहरुको उपस्थित रहेको थियो ।
देश र जनाताको स्वास्थ्यलाई मध्यनजर गरि बैठकमा उपस्थित सबैले बिस्का जात्रालाई भीडभाड नहुने गरी औपचारिक पूजाआजामा मात्र सीमित गर्नु पर्ने बिचार राखेका थिए ।
प्रकाशित मितिः २०७६ चैत्र २६ बुधबार
Comments