भक्तपुर । कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमण रोक्न सरकारले गरेको लकडाउन लम्बिँदै गर्दा बिभिन्न खालका समस्यासँग जुध्नु पर्ने अवस्थालाई मध्यनज गर्दै भक्तपुर जिल्लामा खाद्यान्न अभाव हुन नदिन राधेराधेस्थित १७ तले खाली भवनमा खाद्यान्न भण्डारण गरिने भएको छ ।
सरकारले आगामी २५ गतेसम्मका लागि थप गरेको लकडाउनका अवधि लम्बिँदै गए जिल्लामा खाद्यान्न अभाव हुन नदिन यसो गर्न लागेको हो । उक्त भवनमा नेपाली सेनाको नेतृत्वमा अत्यावश्यक खाद्यान्नहरु भण्डारण गर्ने र अभाव भएमा जिल्लाका चारैवटै नगरपालिकामा वितरण गर्नेगरि खाद्यान्न भण्डारण गर्ने भएको छ ।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, वीरदल गणका गणपति कर्णेल शिवप्रसाद पौडेल, प्रहरी परिषर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधान, सशस्त्र प्रहरी दुवाकोटका प्रहरी उपरीक्षक विश्वप्रसाद भट्टराईसहित संयुक्त सुरक्षा फौजको टोलीले उक्त भवनको अनुगमन गरी खाद्यान्न भण्डारका लागि छनौट गरेको हो ।
दुर्गाप्रसाद न्यौपानेको राधेराधेस्थित प्रयोगविहीन उक्त १७ तले भवन हालको सङ्कटको समयमा प्रयोग गर्न माग गर्दा न्यौपानेले विपद्मा निःशुल्क प्रयोग गर्नेगरी सुरक्षा फौजलाई स्वीकृति दिएका हुन् । भवन प्रयोग गर्ने सम्बन्धमा जिल्ला प्रशासन कार्यालय भक्तपुरले न्यौपानेलाई पत्राचार गरिसकेको छ ।
खाद्यान्न स्टोर तथा वितरणका लागि प्रयोग गरिने भएपछि नेपाली सेनाको वीरदल गण सूर्यविनायक ब्यारेकबाट खटिएका सेनाको टोलीले भवनको सरसफाई गरि तयारी अवस्थामा राखेको वीरदल गणका गणपति शिवप्रसाद पौडेलले जानकारी दिए । यसका लागि नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाले ५० थान त्रिपाल उपलब्ध गराएको छ । उक्त त्रिपाल ओछयाउने र खाद्यान्न भण्डारणका लागि तयारी अवस्थामा राखिएको छ ।
प्रकाशित मितिः२०७६ चैत्र १७ सोमबार
Comments