बर्दिया । मधुवन नगरपालिका–७ स्थित गंगा बस्तीबाट बुधबार एपीएफ टोलीले एक नाल भरुवा बन्दुक, सोको गोली ४७ वटा, केप ८ वटा, बारुद दुई सय ५० ग्राम र २६ वटा छर्रासहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा मधुवन नगरपालिका बस्ने ५० वर्षीय लिलबहादुर कुवँर र सोही नगरपालिका–९ बस्ने ३६ वर्षीय दिलबहादुर चौधरी रहेको सशस्त्र प्रहरी नायव उपरीक्षक अजय छतकुलीले जानकारी दिएका छन् ।
बाटोमा लुकिछिपि बसेको अवस्थामा उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट धनौराबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उक्त भरुवा बन्दुक, गोली, केप, बारुद र छर्रा फेला परेपछि पक्राउ गरिएको हो ।
एपीएफ टोलीले त्यसबेला उनीहरुको साथबाट एउटा खुकुरी, एउटा बन्चरो, एउटा चक्कु, एउटा मोवाईल र एक थान साइकल समेत बरामद गरेको सशस्त्र प्रहरी नायव उपरीक्षक छतकुलीले बताए ।
पक्राउ परेकाहरुलाई एपीएफ टोलीले बरामद सामानसहित आवश्यक कारवाहिको लागि जिल्ला प्रहरी कार्यालय बर्दियामा बुझाएको छ ।
प्रकाशित मितिः २०७६ चैत्र ०७ शुक्रबार
Comments