काठमाडौं, १९ कार्तिक । मिथिलाञ्चलको महापर्व छठ आजबाट सुरु हुदैछ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने छठ पर्व आजदेखि तराईको महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चलभरि धुमधामका साथ सुरु भएको छ ।
चार दिवसीय छठको पहिलो दिन नुहाई खाई, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउदो सूर्यलाई अर्घ तथा चौथो दिन उदाउदो सूर्यलाई अर्घ दिएने छ ।
आज महिलाहरु पोखरीमा नुहाई पूजा शुरु गर्ने गर्छन । यस अवसरमा जनकपुरको प्रमुख पोखरीहरुमा नुहाउनेहरुको भीड लागेको छ ।
यता छठ पर्वलाई ध्यानमा राखी जनकपुरको गंगा सागर ,रुक्मीनी सर, धनुष सागर, अरगज्जा सागर, दशरथ तलाउ,रत्न सागर, भुतही पोखरी सहितका पोखरीहरु लाई छठ पुजाको लागि विशेष रुपले सजाउने कार्य भइरहेको छ । स्थानीय युवा क्लबहरुले पोखरीको सजाउने कार्यमा सहभागी भएका छन । छठमा केरा , भुसबा, ठकुवा, नरिबल, उखु, मुला सहित विभिन्न फलफूल लिएर भक्तजनहरुले सूर्यलाई अर्घ दिने गर्छन ।
छठको पूजा पोखरी र नदीमा मात्र हुने गर्छ । पुत्र प्राप्ति, पुत्रको दिर्घायु, कुष्टरोग बाट मुक्ति लगायत सबै प्रकारको मनोबांछित फल प्राप्तीका लागि मिथिलाञ्चलमा छठ पर्व मनाउने गरिन्छ ।
जनकपुरमा सबैभन्दा उत्सवका साथ मनाइने छठ हेर्न नेपालका विभिन्न जिल्लाका अतिरिक्त भारत एवं तेस्रो देश बाट समेत पर्यटक हरु एक दिन पहिलानै जनकपुर आइ सकेका छन ।
छठ पर्व आजबाट सुरु
0
Share.
Comments