काठमाडौं । सोमबार रातिदेखि ललितपुरको गोदावरीस्थित आनन्द वनमा लागेको आगो ८ भन्दा बढी सामुदायिक वनमा फैलिएको छ। उक्त वनमा लागेको आगो फैलिएर नजिकैको कुष्ठरोग अस्पतालमा आउन सक्ने भन्दै आगो निभाउन गएका दुई स्थानीयको मृत्यु भएको छ।
मंगलबार आगो निभाउन जाँदा दुई जना स्थानीय घाइतेमध्ये एकको किर्तिपुरस्थित बर्न अस्पतालमा उपचारको क्रममा मंगलबार मृत्यु भएको हो। मंगलबार मृत्यु हुनेमा गोदावरी नगरपालिका वडा नम्बर ४ का शंकर पहरी रहेका छन्।
यस्तै जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार अर्का घाइतेको पनि बुधबार उपचारकै क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा गोदावरी नगरपालिका ४ बडिखेलका रमेस पहरी रहेका छन्। आनन्द वनमा लागेको आगोले अहिले अस्पताललाई क्षति हुने सम्भावना नरहेको प्रहरीले जनाएको छ।
प्रहरी अधिकृतका अनुसार हावाहुरी चलिरहेको हुँदा जंगलमा लागेको आगो बस्तीमा आउने जोखिम कायमै रहेकाले सबै सुरक्षा निकायहरु तयारी अवस्थामा रहेका छन् । अहिले पनि कति ठाउमा आगो निभाउन दमकलको प्रयोग भएको छ।
मंगलबार आगो निभाउन चार दमकल प्रयोग गरिएको थियो। बुधबार पनि दुई दमकल स्थानीय, स्थानीय जनप्रतिनिधि, सेना, प्रहरी, शसस्त्र प्रहरी र नगरपालिकाका नगर प्रहरी सहयोगमा आगो निभाउने प्रयास भइरहेको छ।
प्रकाशित मितिः २०८१ बैशाख १९ बुधबार
Comments