काठमाडौं, २ पुस । शेरबहादुर देउवा सरकारका केही मन्त्रीले जाँदाजाँदै व्यक्तिगत तथा पार्टीगत आग्रहमा निकटस्थ व्यक्तिहरूलाई विभिन्न पदमा राजनीतिक नियुक्ति दिलाउन दबाब दिन थालेपछि मन्त्रालयका सचिवहरू अन्योलमा छन्। नयाँ सरकार गठन प्रक्रिया प्रारम्भ भइसक्दा मन्त्रीहरूबाट दबाब आउन थालेपछि केही सचिव बिदामा बस्न थालेका छन् भने केहीचाहिँ विभिन्न बहाना बनाउँदै हाजिर गरेर ‘कार्यक्रम छ’ भन्दै निस्कन थालेका छन्।
‘मन्त्रीको दबाबले सचिवहरू अन्योलग्रस्त र आतंकित हुनुहुन्छ’, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक सचिवले अन्नपूर्णसँग भने, ‘उहाँहरू उकुसमुकुस हुँदै कहिले यता, कहिले उता गरिरहनुभएको छ। उहाँहरूले आफ्नो पीडा मुख्यसचिव लोकदर्शन रेग्मीलाई पनि सुनाएका छन्।’
दबाब दिने मन्त्रीमध्येका एक हुन्, सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेत। उनले नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई हटाएर आफूनिकट अनिल झालाई नियुक्ति दिलाउन सचिव केदारबहादुर अधिकारीलाई दबाब दिएका हुन्। मन्त्रालयका स्रोतका अनुसार मन्त्री बस्नेतले झालाई नियुक्ति दिनेगरी आवश्यक कागजात तयार पार्न सचिव अधिकारीलाई अह्राएका छन्।
मन्त्री बस्नेत भने आफूहरूले नियम र कानुनअनुसारै काम गरेको दाबी गर्छन्। ‘सरकारले आवश्यकताअनुसार निर्णय गर्दा आपत्ति हुनु हुन्न। यो बहुमतप्राप्त सरकार भएकाले सबै प्रकारका निर्णय गर्न सक्छ’, उनले दाबी गरे।
गत २५ मंसिरको मन्त्रिपरिषद्को बैठकले मन्त्री बस्नेतकै प्रस्तावमा गोरखापत्र संस्थानको महाप्रबन्धकमा वसन्तप्रकाश उपाध्यायलाई चार वर्षका लागि नियुक्त गरेको थियो। बस्नेतले टेलिकमको कार्यकारी सदस्य, रेडियो नेपालको बोर्ड सदस्य आदि ठाउँमा नियुक्ति गर्न पनि दबाब दिँदै आएको मन्त्रालयका एक अधिकारी बताउँछन्।
Comments