काठमाडौं । बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रदेशभित्र सञ्चालन हुने सार्वजनिक यातायातमा आजदेखि लागू हुने गरी नयाँ भाडादर तोकेको छ ।
अब काठमाडौँ उपत्यका लगायत क्षेत्रमा सञ्चालन हुने सार्वजनिक यातायातमा ५ किलोमिटरसम्म यात्रा गर्ने यात्रुले १८ रुपैयाँ भाडा तिर्नुपर्नेछ । यस्तै १० किमिसम्म २३ रुपैयाँ, १५ किमिसम्म २७ रुपैयाँ, २० किमिसम्म ३० रुपैयाँ र २० किमिभन्दा माथि ३५ रुपैयाँ भाडा लाग्ने मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
यस्तै उपत्यका बाहेक अन्य क्षेत्रमा सञ्चाललन हुने सार्वजनिक यातायातले साबिकको भाडादरमा २३ प्रतिशत वृद्धि गरिएको छ । यो भाडादरमा यात्राले १५ केजीसम्म निःशुल्क र त्यसमाथि १० केजीसम्म प्रतिकेजी ५ रुपैयाँका दरले सरसामान वा गुन्टा लैजान पाउनेछन् ।
त्यस्तै डिलक्स सहितको सुविधा प्रदान गर्न अनुमति प्राप्त सार्वजनिक यात्रुवाहक सवारी साधनले २० प्रतिशतसम्म थप भाडा लिनसक्ने जारी सूचनामा उल्लेख गरिएको छ ।
प्रकाशित मितिः २०७८ कार्तिक १ सोमबार
Comments