काठमाडौं । पुरानो मास्कलाई विसर्जन गर्दा विशेष ध्यान दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ । अन्यथा मास्कबाट पनि संक्रमणको जोखिम हुने मन्त्रालयको भनाइ छ ।
मास्क खोल्नु अगाडि साबुन पानीले हात धुने वा स्यानिटाइजर प्रयोग गर्नु पर्ने र मास्क खोल्दा छेउको डोरी समातेर खोल्ने र बिचको भाग सकेसम्म नछुन मन्त्रालयको आग्रह छ ।
“खोलिसकेपछि मास्कलाई प्लास्टिकको झोलामा सजिलै खोल्न नमिल्ने गरी बाँधेर राख्नु पर्छ । संक्रमित व्यक्तिले लगाएको वा संक्रमित व्यक्तिसँग सम्पर्कमा आउँदा लगाइएको मास्कलाई दुई तह झोलामा राख्नु पर्छ,” मन्त्रालयले भनेको छ, “मास्क राखेको झोलाको मुख बन्द गर्ने र उक्त झोलालाई सामान्य घरेलु फोहोरसँगै राखी विसर्जन गर्नु पर्छ ।”
विसर्जन गरिसकेपछि साबुन पानीले हात धुनु पर्नेमा मन्त्रालयले जोड दिएको छ । मास्क लगाएपछि मास्कको बिच भागमा हातले छुने तथा चलाउने गर्नु हुँदैन । आवश्यक सतर्कता नपनाए मास्कको प्रयोग गर्दा पनि कोरोना संक्रम हुनेभन्दै यसमा ध्यान पुर्याउन मन्त्रालयले आग्रह गर्दै अनुरोध गर्दै आएको छ ।
प्रकाशित मितिः २०७८ साउन २७ बुधबार
Comments