काठमाडौं । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१३ स्थित करेखोलामा स्थानीयसँग भिडन्त गरेका सामाजिक अभियान्ता ज्ञानेन्द्र शाहीको टोलीले मादक पदार्थ सेवन मापसे गरेको प्रमाणित भएको छ ।
गत शुक्रबार राति स्थानीय गाउँलेसँग राति ९ देखि २ बजेसम्म उनीहरूले भिडन्त गरेका थिए । त्यसक्रममा घाइते भएका उनीहरूलाई अस्पताल भर्ना गरिएको थियो । सोही राति अस्पतालमा उपचारको क्रममा प्रहरीले गरेको मापसे चेक जाँचमा ब्रेथलाइजरले उक्त पुष्टि गरेको हो ।
तर शाहीले आफूहरूले मद्यपान प्रयोग नगरेको र प्रहरीले ब्रेथलाइजरको टुप्पोमा स्यानिटाइजर दलेको कारण अल्कोहल पोजिटिभ देखिएको जिकिर गरेको सार्वजनिक भएको भिडियोमा सुन्न सकिन्छ ।
यसैबीच उक्त घटना मिलाउन आइतबार बेलुका १३ नम्बर वडा अध्यक्ष भुपेन्द्र दर्लामी, प्रहरी निरीक्षक कनक शाहीसँग अभियानी शाहीलगायत अन्य एक दर्जनको बैठक बसेको थियो । बैठकमा शाहीको टोलीले मिलापत्रका लागि निवेदन दिएपछि प्रहरी हिरासतमा रहेका युवाहरूले टाउको फुट्ने गरी कुटेकोमा गल्ती स्वीकार गरेका थिए ।
ज्ञानेन्द्र शाहीको टोलीले पनि गल्ती स्वीकार गरेपछि मिलापत्र गरिएको हो । मिलापत्रपछि हिरासतमा रहेका युवाहरू छुटेका छन् ।
प्रकाशित मितिः २०७८ जेठ ३१ सोमबार
Comments