काठमाडौं । कोभिड–१९ (कोरोना भाइरस) का सङ्क्रमितको उपचारमा बढी शुल्क लिने निजी अस्पताललाई कारबाहीको दायरामा ल्याउने तयारी सरकारले गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सङ्क्रमणको महामारीमा केही निजी अस्पतालले सरकारले तोकेकोभन्दा बढी शुल्क लिने गरेको पाइएको उल्लेख गर्दै नियमविपरीत र जथाभावी पैसा असुल्नेलाई त्यत्तिकै छाड्न नसकिने स्पष्ट पारेको हो । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बढी शुल्क लिने अस्पतालका बारेमा मन्त्रालय र स्थानीय प्रशासनमा परेको उजुरीका आधारमा कारबाही हुने जानकारी दिए ।
महामारीको यो सङ्कटमा एकले अर्कालाई सेवभावले सहयोग गर्नुपर्ने समयमा अनावश्यक दुःख दिने, समस्या बढाउने कार्यप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको उनको भनाइ छ । अधिकारीले जारी गरेको विज्ञप्तिमा अनावश्यक बढी शुल्क लिनेलगायतका गैरकानूनी गतिविधि गर्ने जुनसुकै व्यक्ति वा संस्थाउपर यस्ता गतिविधि नगर्न नगराउन सचेत गराइएको छ ।
सरकारको निर्देशनको अवज्ञा गर्नेलाई तत्काल कारबाहीको दायरामा ल्याइने मन्त्रालयले जनाएको छ । अधिकारीले कुनै स्वास्थ्य संस्थाले कोरोनाका बिरामीको उपचार गर्ने बहानामा बढी शुल्क लिएमा वा अनआवश्यक दुःख दिएमा तत्काल जानकारी दिएर कारबाहीका लागि सहज वातावरण बनाइदिन पनि आग्रह गरे ।
प्रकाशित मितिः २०७८ बैशाख २३ बिहिबार
Comments