काठमाडौँ । कोरोना भाइरसका सङ्क्रमितको उपचारका लागि काभ्रेपलाञ्चोकमा सञ्चालनमा ल्याइएको आइसोलेसनको सुरक्षाका लागि नेपाली सेना परिचालन गरिएको छ ।
कोरोनाको दोस्रो लहरको सङ्क्रमण तीव्र गतिमा फैलिरहेको अवस्थामा कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी जिल्लास्तरीय सङ्कट व्यवस्थापन केन्द्र काभ्रेपलाञ्चोकले सुरक्षा गर्नका लागि आइसोलेसन सेनालाई जिम्मा लगाएको हो । जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बुधबार बसेको बैठकले बनेपास्थित शिर मेमोरियल अस्पताल, नेपाल बनेपा पोलिटेक्निक इन्स्टिच्युट र नमोबुद्ध नगरपालिकाको नौबिसेस्थित जनक बहुमुखी क्याम्पसमा व्यवस्थापन गरिएको आइसोलेशन केन्द्रको सुरक्षाको जिम्मा धुलिखेलस्थित कालिजङ्ग गणका नेपाली सेनालाई जिम्मा दिने निर्णय गरेको हो ।
शिर मेमोरियल अस्पालमा २०, इन्स्टिच्युटमा ५०, क्याम्पस भवनमा २५ र पाँचखाल नगरपालिकाको समाजकल्याण चोकमा १५ शय्याका आइसोलेशन कक्षको व्यवस्थापन गरिएको छ । सङ्क्रमणबाट मुत्यु भएकाको शव व्यवस्थापनसमेत नेपाली सेनाले गर्दै आएको छ । हालसम्म पनि जिल्लामा सरकारी, निजी र स्थानीय तहमा शव बाहन नभएको हुँदा शव व्यवस्थापनका लागि जिल्लास्तरीय सङ्कट व्यवस्थापन केन्द्रको मातहतमा रहने गरी शव बाहन उपलब्ध गराउन वाग्मती प्रदेशस्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रसँग माग गरिएको छ ।
काभ्रेपलाञ्चोकमा हालसम्म सङ्क्रमितको सङ्ख्या सात सय नाघेको छ । जिल्लाका विभिन्न पालिकामा गरी बुधबार एकै दिन एक सय ५८ जनामा सङ्क्रमण पुष्टि भयो । अहिलेसम्मको सङ्क्रमितको सङ्ख्या सात सय ६८ पुगेको छ । तीमध्ये विभिन्न अस्पतालको आइसोलेशनमा ५८ र होम आइसोलेशनमा सात सय ४३ रहेको स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।
काभ्रेमा आइसोलेशन कक्षका सबै शय्यामा अक्सिजनको व्यवस्था गरिनुका साथै बिरामीको सेवाका लागि २४ सै घण्टा एम्बुलेन्स सेवासमेत व्यवस्था गरिएको छ ।
प्रकाशित मितिः २०७८ बैशाख २३ बिहिबार
Comments