काठमाडौं । चर्चित गायिका तथा अभिनेत्री लेडी गागाको घरपालुवा कुकुरलाई घुमाउने जिम्मा पाएका रायन फिसरलाई बुधबार लस एन्जलसमा एक व्यक्तिले गोली हानेका छन् । फिसरमाथि गोली प्रहार गरेर ती आक्रमणकारीले गागाका कोजी र गुस्ताव नाम गरेका दुई फ्रेन्च बुलडग (कुकुरको जात) चोरेका छन् ।
गोली लागेर घाइते भएका फिसर अहिले अस्पतालमा छन् । तर, उनको अवस्थाबारे भने कुनै खबर सार्वजनिक भएको छैन । खबरका अनुसारसेमि–अटोमेटिक ह्यान्ड गनले फिसरमाथि आक्रमण गरिएको थियो ।
मिस एसिया नाम गरेको एउटा कुकुर भने हमलाबाट बचेर भाग्न सफल भएको छ । प्रहरीले त्यो कुकुरलाई गागाको जिम्मा लगाइसकेको छ ।
कुकुरको जानकारी दिनेलाई पाँच लाख डलर
लेडी गागाले आफ्नो हराएका दुईवटा कुकुरको बारेमा जानकारी दिनेलाई पाँच लाख डलर पुरस्कार दिने घोषणा गरेकी छिन् । गुस्ताव (हराएको कुकुर) गागाको परिवारमा जोडिएको नयाँ सदस्य हो । उनले सन् २०१६ मा तीनवटा कुकुरलाई ‘अडप्ट’ गरेकी थिइन् ।
उनले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिँदै हराएको कुकुरको जानकारी दिनेलाई पाँच लाख पुरस्कारको घोषणा गरेकी हुन् । गागा अहिले रोममा छायांकनमा छिन् । एजेन्सी
प्रकाशित मितिः २०७७ फागुन १४ शुक्रबार
Comments