काठमाडौं । आफ्ना दुई ठूला तेल प्रशोधन केन्द्रमा भएको ड्रोन तथा क्रुज मिसाइल आक्रमणमा इरानको संलग्नता पुष्टि भएको दाबी साउदी अरेबियाले गरेको छ ।
आक्रमणमा प्रयोग भएको भनिएको ड्रोन तथा क्रुज मिसाइलको भग्नावशेषको विश्लेषण गर्दा ती ड्रोन तथा मिसाइल इरानकै रहेको पुष्टि भएको साउदी अरेबियाको रक्षा मन्त्रालयले बताएको छ ।
आफ्ना तेल प्रशोधन केन्द्रमा १८ वटा ड्रोन तथा सातवटा क्रुज मिसाइल आक्रमण भएको र ती इरानबाटै आएको साउदी रक्षा मन्त्रालयको भनाई छ । यसअघि अमेरिकी अधिकारीले इरानको दक्षिणी क्षेत्रबाट ड्रोट तथा क्रुज मिसाइल प्रहार बताइसकेका थिए ।
खाडी क्षेत्रको उत्तर सीमा क्षेत्र नजिकैबाट इरानले साउदी अरेबियाको तेल प्रशोधन केन्द्रलाई लक्षित गरी ड्रोन तथा क्रुज मिसाइल आक्रमण गरेको अमेरिकी उच्च अधिकारीले दाबी गरेका थिए ।
यमनबाट हुन सक्ने आक्रमण रोक्नका लागि दक्षिण तर्फ सोझिएका कारण साउदी अरेबियाको हवाई सुरक्षा प्रणालीले इरान तर्फबाट प्रहार भएको ड्रोन र क्रुज मिसाइल रोक्न नसकेको अमेरिकी भनाई छ ।
यसअघि सोमबार सबेरै अमेरिकाले साउदी अरेबियाका तेल प्रशोधन केन्द्रमा भएको ड्रोन आक्रमणमा इरानको संलग्नता रहेको बताउँदै आफ्ना दाबी पुष्टि गर्ने प्रमाण भन्दै स्याटेलाइट तस्बिर सार्वजनिक गरेको थियो ।
इरानले भने शनिबार भएको आक्रमणमा आफ्नो संलग्नता अस्वीकार गर्दै आएको छ । सो आक्रमणको जिम्मा इरानको साथ पाएको यमनको हुथी बिद्रोहीले लिएको छ ।
सरकारी स्वामित्वको तेल कम्पनी अरामकोका अबकेक र खुराइसमा रहेका दुई ठूला प्रशोधन केन्द्रमा ड्रोन आक्रमण भएको हो । त्यसपछि साउदी अरेबियाले तेल तथा ग्यासको उत्पादनमा कटौती गरेको छ ।
दुई ठूलो तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण भएपछि साउदी अरेबियाले तेल तथा ग्यासको उत्पादनमा झण्डै आधा कटौती गरेको हो । एजेन्सी
प्रकाशित मितिः २०७६ असोज २ बिहिबार
Comments