काठमाडौं । एएफसी एसियन कप फुटबलमा इरानले सानदार जित निकालेको छ । आइतबार राति भएको खेलमा इरानले प्यालेस्टाइनविरुद्ध ४–१ गोल अन्तरको जित निकालेको हो । कतारमा जारी प्रतियोगितामा इरानका करिम अन्सारीफर्दले दोस्रो मिनेटमै गोल गर्दै अग्रता दिलाए । १२ औँ मिनेटमा शोजा खलीलजादेहले गोल गरेपछि इरानले अग्रता दोब्बर बनाएको थियो ।
मेहदी अब्दोलहामिद घयेडीले ३८ औं मिनेटमा गोल गरेपछि इरान एकतर्फीरूपमा अगाडि बढको थियो । पहिलो हाफको अतिरिक्त छैटौं मिनेटमा प्यालेस्टाइनका तमर मोहम्मद सेयमले गोल गरेपछि अन्तर ३–१ मा आएको थियो । सरदार अजमौनले ५५ औं मिनेटमा गोल गरेपछि इरान ४– १ को फराकिलो जित निकाल्न सफल भयो ।
समूह ‘सी’ कै अर्को खेलमा यूएईले हङकङमाथि ३–१ को जित निकालेको छ । यूएईले जित निकाल्दा २ गोल पेनाल्टीबाट भएको थियो । हङकङले अन्त्यतिर गरेको गोल भारले मान्यता नदिँदा खेल रोमाञ्चक बनेको थियो । यो समूहमा इरान र यूएईले स्पष्ट ३ अंक जोड्दै शीर्ष २ स्थानमा रहेका छन् । हङकङ र प्यालेस्टाइनले अंक जोड्न सकेका छैनन् ।
यस्तै समूह ‘डी’ मा रहेको जापानले भियतनामलाई ४–२ गोल अन्तरले पराजित गरेको छ । प्रतियोगिताअन्तर्गत सोमबार नेपाली समयअनुसार राति सवा ८ बजे समूह ‘डी’ का इन्डोनेसिया र इराक भिड्नेछन् । यसैगरी समूह ईका कोरिया र बहराइनले सवा ५ बजे खेल्दा राति सवा ९ बजे मलेसिया र जोर्डन आमनेसामने हुनेछन् ।
प्रकाशित मितिः २०८० माघ ०१ सोमबार
Comments