काठमाडौं । राष्ट्रिय सभाकी सांसद कोमल वलीले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) कार्यक्रम संसदबाट अनुमोदन गर्ने कुरामा सबै दलको एकमत रहेको बताएकी छन्। संविधान जारी गर्ने बेलामा जस्तो दलहरूबीच एकता एमसिसीमा देखिएको उनले बताइन्।
‘सबै राजनीतिक दलको एकमत रहेको अर्को विषय हो– एमसिसी। संसदका सबै दल र सांसदले समर्थन गरेको विषय – एमसिसी नै हो,’ आइतबार राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद वलीले भनिन्, ‘नेपाली कांग्रेसले समेत एमसिसी आउनुपर्छ भनेको छ। कुनै पार्टीले विरोध गरेको देखिएको छैन।’
तर, एमसिसीबारेमा केही गलत प्रचार गरेर चुक्ने काम भएको उनले औंल्याइन्। एमसिसीमा अमेरिकाको भूमिका के हुन्छ? कति पैसा दिने हो? कहाँ लगानी हुन्छ? यस्ता कुरा सरकारले जनतालाई राम्रोसँग बुझाउन पर्ने उनले बताइन्।
‘बरु दातृ निकायको जनतालाई बुझाउन थालिसकेको छ। जनतालाई बुझाउने काम हाम्रो हो, दातृ निकायको होइन,’ उनले भनिन्।
एमसिसीले अर्को देशको सेना नेपालमा ल्याएर राख्ने कतै नभनेको उनले बताइन्।
‘यति ठूलो समर्थन कुनै पनि विषयले पाएको थिएन। एमसिसी हुँदैन, यो ठीक छैन– भनेर कुनै मान्यताप्राप्त दलहरूले भनेको छैन। यस्तो हुँदा पनि प्रश्न गरिरहनु र नकारात्मक कुरा गर्नु हुँदैन। हाम्रो अनुरोधमा आएको हो एमसिसी। संसदले एमसिसीलाई अनुमोदन गरोस् भन्ने माग राख्दछु,’ सांसद वलीले भनिन्।
प्रकाशित मितिः २०७६ माघ ०५ आइतबार
Comments