काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन र कांग्रेस सभापति शेरबहादुर देउवाबीच सोमबार भेटवार्ता भएको छ। कोशी प्रदेश सरकार गठनबारे छलफल गर्न लिङ्देन देउवा निवास पुगेको लिङ्देननिकट एक नेताले देशसञ्चारलाई जानकारी दिए। ती नेताका अनुसार कोशी प्रदेश सरकार गठनबारे देउवा र लिङ्देनबीच पहिलो चरणको छलफल भएको हो।
लिङ्देनसँगको छलफलपछि देउवा बालुवाटारमा जारी सत्ता गठबन्धनको बैठकमा सहभागी भएका छन्। कोशी प्रदेशमा सरकार गठनका लागि राप्रपा निर्णायक दल बनेको छ। हिक्मत कार्कीले मुख्यमन्त्रीमा विश्वासको मत पाउन नसक्दा शुक्रबार एमाले नेतृत्वको सरकार ढलेपछि कोशी प्रदेश प्रमुख परशुराम खापुङले आइतबार नयाँ सरकार गठनका लागि आह्वान गरेका छन्।
संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठनका लागि असार २१ गते साँझ ५ बजेभित्र दाबी पेस गर्न प्रदेश प्रमुख खापुङले आह्वान गरेका छन्। ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ प्रदेशसभा सदस्य आवश्यक पर्छ। माओवादी केन्द्रबाट निर्वाचित भएर सभामुख भएका बाबुराम गौतमलाई नजोड्दा गठबन्धनसँग जम्मा ४६ प्रदेशसभा सदस्य छन्।
कांग्रेसका २९, माओवादी केन्द्रका १२, एकीकृत समाजवादीका चार र जसपाका एक प्रदेशसभा सदस्य छन्। प्रदेशसभाको सबभन्दा ठूलो दल एमालेसँग ४० र राप्रपासँग ६ सिट छन्। एमाले प्रतिपक्ष दल भएकाले राप्रपाले साथ नदिएसम्म कोशी प्रदेश सरकार बन्ने सम्भावना नहुँदा राप्रपा कोशी प्रदेश सरकार निर्माणमा निर्यायक बनेको हो।
प्रकाशित मितिः २०८० असार १८ सोमबार
Comments