काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी समानुपातिक सांसद सुमना श्रेष्ठले टिसर्ट र जिन्सको पहिरन लगाउनु अमर्यादित नहुने टिप्पणी गरेकी छिन् । सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद श्रेष्ठले टिसर्ट र जिन्स लगाएकोमा अमर्यादित भनेर खिल्ली उडाइएको भन्दै आफ्नो दल सही बाटोमा रहेको बताएकी हुन् ।
उनले संसद्मा लगाउने पोसाकको मर्यादा तोक्नु रास्वपामाथिको रणनीतिक हमला भएको टिप्पणी गर्दै रास्वपाले त्यसको विरोध गर्ने बताइन् ।
‘चाकडीबाजबाट टाढिएर, पहिरनमा हैन कर्तव्य र जिम्मेवारीमा मर्यादा खोजेर, जवाफदेहिताको प्रष्ट प्रश्न सोधेर अघि बढ्न खोज्ने नयाँ पुस्तामाथि यो रणनीतिक हमला हो । यसको रास्वपा विरोध गर्छ’, सांसद श्रेष्ठले अगाडि भनिन्, ‘सचेत रहनुहोस्, तपाईंले हामीलाई रोक्न सक्नुहुन्न सक्दै त सक्नुहुन्न । जवाफ माग्न छोड्ने छैनौँ, नयाँ पुस्ताको देखिने गरी प्रस्तुति गर्न बन्द गर्ने छैर्नौँ ।’
आइतबार प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामा बस्दा सांसदहरुले औपचारिक पहिरन लगाउने विषयमा छलफल भएको थियो ।
प्रकाशित मितिः २०८० जेठ ०१ सोमबार
Comments