काठमाडौं । महाभियोग लागेका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले दिपक कार्कीलाई प्रधानन्यायाधीश बनाउन आफूमाथि महाभियोग लगाइएको बताएका छन्। बुधबार संसदीय महाभियोग सिफारिस समितिमा दिएको बयानमा प्रधानन्यायाधीश जबराले आफूले न्यायालय सुदृढीकरणका लागि काम गर्दा मिथ्या आरोप खेप्नु परेको बताएका छन्।
‘दिपक कुमार कार्कीलाई प्रधानन्यायाधीश बनाउन महाभियोग लगाइएको हो,’उनले भने। बयानका क्रममा जबराले संसदको सम्मानका लागि आफू महाभियोग सिफारिस समितिमा आएको बताए। उनले न्यायापालिकालाई कमजोर बनाउन खेल खेलिएको समेत बताएका छन्। अहिले बयान जारी छ।
आफूमाथि लागेको महाभियोगबारे बयान दिन जबरा बुधबार बिहान सिंह दरबार पुगेका थिए। भदौ ८ गते महाभियोगी सिफारिस समितिको बैठकले महाभियोग लगाइएको आरोपसँग सम्बन्धित विषयमा प्रमाण, कागजात तथा जानकारी उपलब्ध गराइदिन सरोकारवाला निकाय, व्यक्तिबाट माग गरेको थियो।
सोहीबमोजिम नेपाल बार एसोसिएसनले जबरालाई महाभियोग पुष्टि गर्ने कागजात एवं विवरणसहितको ३४ बुँदे पत्र महाभियोग सिफारिस समितिलाई बुझाएको छ। यसअघि जबराको राजीनामा माग गर्दै बारले १०९ दिनसम्म आन्दोलन गरेको थियो। जबराको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सर्वोच्चका न्यायाधीश इजलास बस्न इन्कार गरेका थिए।
प्रकशित मितिः २०७९ भदौ १५ बुधबार
Comments