काठमाडौँ । प्रणय दिवसको अवसर पारेर यही शुक्रवारबाट प्रदर्शनमा आउन लागेको त्रिकोणात्मक प्रेमकथामा आधारित फिल्म ‘लभ डायरीज’ ले प्रिमियरमा फिल्मकर्मी र पत्रकारबाट सुखद प्रतिक्रिया प्राप्त गरेको छ । बुधबार राजधानीको कमलपोखरीमा रहेको बिग मुभिजमा आयोजित प्रिमियरमा फिल्म हेर्न पुगेका फिल्मकर्मीले मेकिङ, कथावस्तु र कलाकारको अभिनयको प्रशंसा गरे ।
फिल्म हेर्न अभिनेता द्वय भुवन केसी, शिव श्रेष्ठ, अभिनेत्री झरना थापा, निर्माता सुनिल कुमार थापा, निर्देशक मुस्कान ढकाल, निर्माता सन्तोष सेन, अभिनेत्री केकी अधिकारी, निर्देशक सुदर्शन थापा, अभिनेता आर्यन अधिकारी, निर्देशक तथा निर्माता आकाश श्रेष्ठ, अभिनेत्री पवित्रा आचार्यलगायत पुगेका थिए । फिल्म हेरेपछि सबैले ‘लभ डायरीज’ लाई मिठो प्रतिक्रिया दिए ।
अभिनेत्री झरना थापाले कलाकारदेखि निर्देशक सबैको काम आफूलाई राम्रो लागेको बताइन् । उनले भनिन्, ‘नव-नायिका रुविना थापाको काम विशेष मनपर्यो । उहाँले यो फिल्मबाट राम्रो सम्भावना देखाउनुभएको छ । सुशील (श्रेष्ठ) भाईको काम पनि राम्रो छ । सौरभ (चौधरी) भाई (निर्देशक) को काम पनि राम्रो लाग्यो । उहाँले पहिलो पटक फिल्म निर्देशन गरेको जस्तो लाग्दैन ।’
झरनाकै कुरा फोटोकपी गर्दै अभिनेता भुवन केसीले सबै कलाकारले राम्रो काम गरेको बताए । लभस्टोरी फिल्म मन पराउने दर्शकलाई ‘लभ डायरीज’ ले निराश नबनाउने उनको भनाई छ । झरना र भुवन दुवैलाई फिल्मको क्लाइमेक्स विशेष मन परेछ । दुवैले फिल्मको क्लाइमेक्स परम्परागतभन्दा भिन्न लागेको बताए । फिल्म हेर्ने पत्रकारले पनि क्लाइमेक्स रुचाएका थिए ।
प्रिमियरमा फिल्मलाई मिलेको सकारात्मक प्रतिक्रियाबाट अभिनेता सुशील श्रेष्ठ र नव-अभिनेत्री रुविना थापा उत्साहित देखिए । अब दर्शकले फिल्म हेरेर कस्तो प्रतिक्रिया दिन्छन् भन्ने कुरालाई लिएर डर लागिरहेको उनीहरुको भनाई छ । स्क्रिप्ट अनुसार फिल्म निर्माण भएकोमा पनि दुवैले खुसी व्यक्त गरे । निर्देशक सौरभ प्रिमियरमा मिलेको सुखद प्रतिक्रियाबाट खुसी देखिए ।
फिल्ममा रुविना थापाले राम्रो काम गरेकी छन् । उनको अभिनय, सुन्दरता र डाइलग डेलिभरीले मन जित्छ । अभिनयमा अझै मिहिनेत गरेको खण्डमा उनलाई नेपाली फिल्म क्षेत्रले राम्रो सम्भावना बोकेको अभिनेत्रीको रुपमा लिन सक्नेछ । सुशीलले पनि आफ्नो भूमिकालाई न्याय गर्ने कोशिश गरेका छन् । यही फिल्मबाट डेब्यू गरेका विश्वजित रिमालले भने निराश बनाउँछन् ।
प्रकाशित मितिः २०७६ फागुन ०१ बिहीबार
Comments