काठमाडौँ । हास्यकलाकार शिवहरी पौडेलको डेब्यू निर्देशनमा बनेको कमेडी फिल्म ‘लक्का जवान’ को दोस्रो गीत सार्वजनिक भएको छ । ‘मन त मेरो लक्का जवान’ गीतपछि बुधबार राजधानीमा एक कार्यक्रमका बीच निर्माण टिमले ‘मुसुक्कै हाँसन माया’ बोलको गीत सार्वजनिक गरेको हो । बाबुल गिरीको शब्द तथा संगीत रहेको गीतमा जुना रिजाल काफ्ले र बाबुल स्वयंको गायन छ ।
कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा फिल्मका प्रमुख कलाकारहरु दीलिप रायमाझी, प्रियंका कार्की, सलोन बस्नेत र वर्षा सिवाकोटी फिचर्ड छन् । गीतको अडियो र भिडियो दुवै बलियो छ । यो गीतले फिल्मको हाइप निर्माणमा ठूलो भूमिका खेल्ने विश्वास निर्माण टिमको छ । गीतको भिडियोमा दीलिपसँग प्रियंका र सलोनसँग वर्षाको केमेस्ट्री सुहाएको देखिन्छ ।
चैत २१ गतेबाट प्रदर्शनमा आउने फिल्ममा किरण केसी, शिवहरी पौडेल, राजाराम पौडेल, सुशील पोखरेल, सरोज खनाल, अञ्जु महर्जन, अनुसुयषा श्रेष्ठ, सुरेन्द्र केसी, जयनन्द लामा, सविता गुरुङलगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । ध्रुव दत्त र अनुसुयषा श्रेष्ठको प्रस्तुती रहेको फिल्मको कार्यकारी निर्मातामा किरण केसी, दीलिप रायमाझी र शिवहरि पौडेल छन् ।
‘लक्का जवान’ को सह-निर्मातामा सुशील अर्याल, राजाराम पौडेल, राज केसी, सुरेन्द्र केसी, दीपेन्द्र खनियालगायत छन् । ‘आमा बंगलामुखी फिल्म प्रोडक्सन’ को ब्यानरमा बनेको फिल्मले केही पाका उमेरका मानिसहरुको कथा भन्ने बताइएको छ । फिल्ममा बरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठ अथिती भूमिकामा छन् । फिल्मको कथा, पटकथा तथा संवाद शिवहरी स्वयंको हो ।
गीत हेर्नुहोस्:
प्रकाशित मितिः २०७६ माघ २९ बुधबार
Comments