काठमाडौँ । ‘बमकाजी’ नाममा छायांकन भएको फिल्म हो, ‘मन्त्र’ । तर, ‘कबड्डी’ सिरिजमा अभिनेता दयाहाङ राईले निर्वाहा गर्ने चरित्रको नामसँग मिल्ने भएका कारण निर्माण टिमले फिल्मको नाम परिवर्तन गरेर ‘मन्त्र’ राख्यो । यो फिल्मको गएको हप्ता टिजर सार्वजनिक भयो । अभिनेता सौगात मल्ल र अभिनेत्री दीया पुन अभिनीत फिल्मको टिजरलाई दर्शकले निकै रुचाएका छन् ।
फिल्मको टिजरमा विशेषगरि अभिनेता सौगातको प्रशंसा भएको छ । उनको अभिनय र हिमाली क्षेत्रमा बोलिने लवज तथा पहिरनलाई दर्शकले मन पराएका छन् । प्रायःले धेरैपछि अभिनेता सौगातको अभिनयमा विविधता देखिएको बताएका छन् । टिजरलाई यो समाचार तयार पार्दासम्म २ लाख २९ हजारभन्दा बढीको नजर परिसकेको छ । भने, १० हजार लाइक्स मिलेको छ ।
टिजरलाई दर्शकबाट मिलेको सकारात्मक प्रतिक्रियाले निर्माण टिम उत्साहित भएको छ । फिल्मको भिन्न शैलीमा प्रचार गर्ने योजना बुनिएको निर्माता मनोज राजभण्डारीले बताए । केही दिनदेखि काठमाडौँको व्यस्त ठाउँ दरवारमार्गमा रहेको डिजिटल बोर्डमा फिल्मको टिजर देखाउन थालिएको छ । यसबाट धेरै दर्शकमा फिल्मको जानकारी पुग्ने निर्माण टिमको विश्वास छ ।
नयाँ वर्ष २०७७ मा प्रदर्शनमा आउने बताइएको फिल्ममा गोरखाको मनास्लु क्षेत्र आसपासको कथावस्तुलाई आधार बनाइएको छ । मनास्लु क्षेत्रमा पहिलो पटक छायांकन गरिएका फिल्म हो यो । खिल बहादुर गुरुङ निर्देशित हिमाली क्षेत्रको प्रेमकथा बोल्छ । फिल्ममा सौगात र दीयासँगै बुद्धि तामाङको पनि प्रमुख भूमिका छ । निर्देशक साम्तेन भुटियाले फिल्मको कथा लेखेका हुन् ।
फिल्मको कार्यकारी निर्मातामा देवेन्द्र मानन्धर र सह-निर्मातामा रविराज कार्की सुरेश कार्की, वीर बहादुर लामा र शुभ श्रेष्ठ रहेका छन । फिल्ममा शम्भुजित बास्कोटारसन्तोष सुनारको संगीत र सञ्जय लामाको छायांकन छ । अभिनेता सौगात मल्लमाथि लाग्दै आएको एकैखाले भूमिकामा आफूलाई सीमित राखेको आरोपबाट यो फिल्मले मुक्त गर्नसक्ने टिजर हेर्दा अनुमान गर्न सकिन्छ ।
टिजर हेर्नुहोस्:
प्रकाशित मितिः २०७६ माघ २९ बुधबार
Comments