काठमाडौँ । यस वर्षको निकै आश गरिएको फिल्म हो, ‘सेन्टी भाइरस’ । असोजमा प्रदर्शनमा आएको फिल्म ‘छ माया छपक्कै’ पछि कुनै फिल्मले अपेक्षाकृत व्यापार गर्न नसकेको अवस्थामा यो फिल्मले सुस्ताएको नेपाली फिल्मको व्यापार चलायमान बनाउने अपेक्षा गरिएको छ । यो अपेक्षा यसकारण पनि गरिएको हो कि फिल्ममा सिताराम कट्टेल र कुञ्जना घिमिरेले अभिनय गरेका छन् ।
‘धुर्मुस-सुन्तली’ उपनामले चिनिने उनीहरुले ‘मेरी बाँस्सै’ हास्यटेलिश्रृंखलामा सँगै काम गरे पनि फिल्ममा भने स्क्रिन साझेदार गर्न पाएका थिएनन् । रियल जोडी समेत रहेका उनीहरु ‘सेन्टी भाइरस’ मा पनि श्रीमान्श्री-मतिको भूमिकामा छन् । कलाकारिता हुँदै अहिले सामाजिक कार्यमा सक्रिय ‘धुर्मुस-सुन्तली’ ले पहिलो पटक सँगै अभिनय गरेका कारण पनि फिल्मप्रति अपेक्षा उच्च छ ।
शिवरात्रीको अवसर पारेर आउँदो फागुन ९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मको पहिलो गीत ‘फनफनी’ सँगै कमेडी र रोदन मिश्रित ट्रेलर सार्वजनिक भैसकेको छ । गीतले यूट्युबमा २७ लाख र ट्रेलरले १४ लाखभन्दा बढी भ्यूज बटुलिसकेको छ । गीतलाई मिश्रित प्रतिक्रिया मिले पनि ट्रेलरलाई दर्शकले रुचाएका छन् । ट्रेलरमा समावेश गरिएका केही पञ्चलाइन गजब छन् ।
श्रीमान्श्री-मति फरक राजनीतिक पार्टीमा आबद्ध हुँदा परिवारमा उत्पन्न हुने कलहमा फिल्म आधारित रहेको ट्रेलरले प्रस्ट्याउँछ । फिल्मले उठान गरेको कथावस्तु नेपाली फिल्मका लागि नयाँ र नौलो नभए पनि प्रस्तुतीकरण बलियो हुनसक्ने विश्वास लिइएको छ । किनकि, फिल्मका निर्देशक रामबाबु गुरुङ हुन् । उनी मौलिक कथा पस्कन सिपालु मानिने निर्देशकको रुपमा चिनिन्छन् ।
फिल्म ‘सेन्टी भाइरस’ मा सिताराम र कुञ्जनासँगै दयाहाङ राई, विल्सन विक्रम राई, वुद्दि तामाङ, राजाराम पौडेललगायतका कलाकारहरुको अभिनय रहेको छ । यो फिल्मको आम्दानीको ५० प्रतिशत चितवनमा निर्माण भैरहेको ‘क्रिकेट रंगशाला’ निर्माणमा खर्च गरिने बताइएको छ । सुबिहानी फिल्मस् प्रा।लीको ब्यानरमा निर्मित फिल्मको निर्माण डिन्डु लामा ह्योल्मोले गरेका हुन् ।
प्रकाशित मितिः २०७६ माघ २८ मंगलबार
Comments