काठमाडौं । बाहुबली फेम स्टार प्रभासको चर्चा बढिरहेको छ । बाहुबलीका दुई सिरिज पछि उनको पहिलो फिल्म साहो रिलिजको संघारमा रहेको छ ।
साहोको हालै सार्वजनिक गरिएको एक्सन प्याक ट्रेलरले पनि राम्रो प्रतिक्रिया पाएको छ । आम दर्शकका साथै फिल्म विश्लेषकहरुले पनि यसलाई मन पराएका छन् ।
यसैबीच साहोका लागि प्रभासले लिएको भनिएको फिस अहिले चर्चाको विषय बनेको छ । प्रभासले साहोका लागि सय करोड लिएको चर्चा अहिले बलिवुडमा व्यापक रहेको छ । करिब २ बर्ष लागाएर बनाइएको यो फिल्म हिन्दीसहित तलेगु, तामिल र मलायलम भाषामा बनेको छ । २५० देखि ३ सय करोड लगानी भएको यस फिल्ममा प्रभासले सय करोड लिएको बताइए पनि प्रभासले भने आफुले लिने फिसमा २० प्रतिशत कम फिस लिएको बताएका छन् ।
हालै फिल्म प्रमोशनका क्रममा दिएको एक अन्तर्वार्तामा प्रभासले आफ्नो फिस बारे चर्चा गर्दै अन्य फिल्ममा लिने फिस भन्दा यस फिल्ममा २० प्रतिशत कम लिएको बताए । उनले फिल्मको बजेट र फिल्मले कति कमाउछ भन्ने नहेरी मैले कसरी धेरै पैसा लिन सक्छु भन्दै निर्माताले दिन तयार हुदा पनि आफुले कम पैसा लिएको बताएका छन् ।
मिडिया रिपोर्टका अनुसार यस फिल्ममा प्रभासले फिस बाहेक नाफामा पनि सेयर लिने सम्झौता भएको बताइएको छ । बाहुबली पछि अत्याधिक चर्चामा आएका प्रभासको फिल्म साहो बलिवुडको अति प्रतिक्षित फिल्म मध्येको एक फिल्म हो ।
आगामी अगष्ट ३० मा रिलिज हुने यो फिल्ममा प्रभासको अपोजितमा श्रद्धा कपुर रहेकी छन् । त्यस्तै यस फिल्ममा जैकी श्राफ, चंकी पाण्डे र निल नितिन मुकेशको पनि प्रमुख भूमिका रहेको छ । यस फिल्मलाई दक्षिण भारतीय फिल्म निर्देशक सुजिथले निर्देशन गरेका हुन् ।
प्रकाशित मितिः २०७६ साउन ३२ शनिबार
Comments