काठमाडौं । तीज आउन अझ केही समय बाँकी रहे पनि अस्ट्रेलियामा भने तीजको रौनकले छोइसकेको आभाष पाउन थालिएको छ । अस्ट्रेलियाभर रहेका विभिन्न नेपाली संघ, संस्थाहरूले तीजलाई आआफ्ना तरिकाले मनाउनका लागि विभिन्न कार्यक्रमहरूको आयोजना गरेका छन् ।
यसै क्रममा अस्ट्रेलियामा नेपालीहरूको सबैभन्दा बाक्लो उपस्थिति रहेको ठाउँ सिड्नीको अर्बनमा अवस्थित अबर्न नेप्लिज कम्युनिटीको आयोजनामा यही अगष्ट २४ तारिख शनिबारको दिन सिड्नीको लिड्कमस्थित वायाट पार्कमा ‘अबर्न तीज महोत्सव २०१९’ को आयोजना हुँदैछ ।
सो महोत्सवमा चर्चित लोकगायक बद्री पंगेनी, प्रीति आले, प्रकाश सपुत, कविता नेपालीका अलावा स्थानीय कलाकारहरूको प्रस्तुती रहने अबर्न नेप्लिज कम्युनिटीका अध्यक्ष अशोक उप्रेतीले बताए ।
उनले भने, “नेपाली संस्कृतिको जगेर्ना गर्दै प्रवासमा पनि हाम्रो प्रमुख चाडमध्ये एक तीजलाई आफ्नै मौलिक ढङ्गबाट मनाउन र दोश्रो पुस्ताका नेपालीहरूलाई समेत हाम्रो पर्वको चिनारी दिनका लागि यो महोत्सव आयोजना गरिएको हो । निःशुल्क प्रवेशको व्यवस्था रहेको उक्त महोत्सवलाई भव्य र सभ्य बनाउन सम्पूर्ण सिड्नीवासी नेपालीहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछु ।”
बिहान ११ बजेदेखि बेलुकी ८ बजेसम्म हुने सो महोत्सवमा कलाकारहरूले विभिन्न तीज गीत, लोक गीतका साथै अन्य मनोरञ्जनात्मक प्रस्तुतीहरू पनि रहनेछन् ।
महोत्सवमा स्थानीय कलाकारहरु सुजाता नेपाली, निखिला चापागाईं, अस्मिता अधिकारी, सुजाता ठकुरी, बिबेक कँडेल, अनिल बस्नेत, सुनिल बस्नेत, रक्षा केसी, सरिना सैँजु, सिमोन श्रीपाली, स्नेहा घिमिरे, ग्रानभिल नेपाल ग्रुप लगायतको प्रस्तुती रहनेछ ।
अस्ट्रेलियाको तास्मानियामा २२ अगष्टबाट शुरू हुने यो कलाकार समूहको सांगीतिक यात्रा २४ मा सिड्नी, २५ मा मेलबोर्न, २९ मा एडिलेड, ३० मा क्यानबेरा, ३१ मा ब्रिसबेन र सेप्टेम्बर १ तारिखमा पर्थमा गएर टुंगिनेछ ।
प्रकाशित मितिः २०७६ साउन २९ बुधबार
Comments