काठमाडौं । काठमाडौं मेयरकप अन्तर्गत त्रिवि क्रिकेट मैदानमा अहिले दुई विभागीय टोली नेपाल पुलिस क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा चलिरहेको छ । खेलको पहिलो पारी सकिँदा टस जितेर ब्याटिङ रोजेको पुलिसले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २५८ रनको बलियो योगफल तयार पारेको छ ।
पुलिसलाई बलियो योगफलसम्म पुर्याउन दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट प्रदर्शन गरे । १४० रनमा पेभेलियन फर्किएका उनले १३१ बलको सामना गर्दै ११ चौका र ६ छक्का प्रहार गरे । पवन सरार्फले ३५ र सुनिल धमलाले ३३ रनको योगदान दिए ।
एपिएफका लागि कप्तान शरद भेषवाकरले ३, अविनाश बोहराले २ र अमरसिंह रौटेलाले १ विकेट लिए । दुवै टोली प्रतियोगितामा लगातार दोस्रो जित निकाल्ने प्रयासमा छन् । एपिएफले पहिलो खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबमाथि १ विकेट तथा पुलिसले बागमती प्रदेशमाथि २ रनको रोमाञ्चक जित दर्ता गरेका थिए ।
प्रकाशित मितिः २०७७ फागुन २३ आइतबार
Comments