काठमाडौं । लियोनल मेस्सीका बारेमा गरेको टिप्पणीलाई लिएर बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोएम्यानले क्लबका अन्तरिम अध्यक्ष कार्लोस तुस्क्वेट्स को आलोचना गरेका छन् ।
अन्तरिम अध्यक्ष कार्लोसले केही दिनअघि मेस्सीलाई गएको समरमै क्लबबाट जान दिनु पर्ने बताएका थिए । मेस्सीलाई बेच्दा आउने पैसा क्लबका लागि महत्वपूर्ण हुने भएकाले उनलाई जान दिएको भए हितमा हुने उनले बताएका थिए ।
मेस्सीले गएको समरमा क्लब छोड्न चाहेका थिए, तर बार्सिलोनाले उनलाई सम्झौतामा रहेका नियमहरु भन्दै जान दिएन । उनी यो सिजनको अन्त्यमा बार्सिलोनासँगको सम्झौताबाट मुक्त हुने छन् ।
क्लब बाहिर हुने टिप्पणीहरुको वास्ता नगर्ने भए पनि क्लब भित्रैबाट आउने टिप्पणीहरुले भने सहयोग नगर्ने प्रशिक्षक रोनाल्डले बताएका छन् ।
मेस्सीको भविष्यबारे निर्णय गर्ने व्यक्ति मेस्सी स्वयम् नै रहेको र त्यसबारे अरुले बोल्नु राम्रो नहुने प्रशिक्षकले बताएका छन्। एजेन्सी
प्रकाशित मितिः २०७७ मंसिर २० शनिबार
Comments