काठमाडौँ । फ्रेन्च लिग वान फुटबलमा साविक विजेता पेरिस सेन्ट जर्मेन पीएसजी पराजित भएको छ । शुक्रबार राति भएको खेलमा पीएसजी मोनाकोसँग ३-२ गोल अन्तरले पराजित भएको हो । मोनाकोविरुद्ध २ गोलको सुरुवाती अग्रता जोगाउन नसक्दा पीएसजी पराजित भएको हो ।
खेलको २५ औं मिनेटमा केलियन एमबाप्पेले गोल गर्दै पीएसजीलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ३७ औं मिनेटमा एमबाप्पेले पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई २-० अग्रता दिलाए । ४४ औं मिनेटमा एमबाप्पेले तेस्रो गोल गरेका थिए । तर, भीएआरको सहायताबाट रेफ्रीले त्यसलाई गोलको मान्यता दिएन ।
दोस्रो हाफमा मोनाकोले उत्कृष्ट पुनरागमन गर्यो । खेलको ५२ औं मिनेटमा केभिन भोलाण्डले गोल गर्दै मोनाकोलाई २-१ को स्थितिमा ल्याए । ६५ औं मिनेटमा केभिनले व्यक्तिगत दोस्रो गोल गर्दै खेल २-२ को बराबरी बनाए ।
खेलको ८४ औं मिनेटमा पीएसजीका डियालोले रातो कार्ड पाउदै मैदानबाट बाहिरिए । उनले मोनाकोका केभिनलाई आफ्नो डिबक्स भित्र फउल गरेका थिए । जसमा मोनाकोले पेनाल्टी समेत पायो ।
उक्त पेनाल्टीमा सेस फेब्रिगासले गोल गर्दै मोनाकोलाई ३-२ को जित दिलाए । जितसँगै मोनाको दोस्रो स्थानमा उक्लिएको छ । मोनाकोले ११ खेलमा २० अंक जोड्यो । पीएसजी २४ अंक जोडेर शीर्ष स्थानमा यथावत रहेको छ । अर्को खेलमा रेनस बोर्डुअक्ससँग १-० ले पराजित भएको छ । एजेन्सी
प्रकाशित मितिः २०७७ मंसिर ०६ शनिबार
Comments