काठमाडौँ । फिफा विश्वकप छनोटमा ब्राजिलले उरुग्वेलाई पराजित गरेको छ । दक्षिण अमेरिकी छनोट अन्तर्गत बुधबार बिहान भएको खेलमा ब्राजिलले उरुग्वेलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
उरुग्वेको मैदानमा ब्राजिललाई जित दिलाउन अर्थर र रिचार्लीसनले एक एक गोल गरे । खेलको ३४ औं मिनेटमा अर्थरले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । खेलको ४५ औं मिनेटमा रिचार्लीसनले गोल गर्दै ब्राजिललाई २-० को अग्रता दिलाए ।
१० खेलाडीमा समेटिएको उरुग्वे दोस्रो हाफमा खेलमा फर्कन सकेन । तर, ७१ औं मिनेटमा एडिन्सन काभानीले रातो कार्ड पाएपछि उरुग्वे १० खेलाडीमा समेटियो । यस्तै उरुग्वे फरवार्ड लुइस सुआरेज बिना मैदान उत्रिएको थियो । कोरोना संक्रमण भएपछि उनले ब्राजिलविरुद्धको खेल गुमाएका हुन् ।
ब्राजिलले समेत थप गोल गर्न सकेन र खेल २-० ले आफ्नो बनायो । यो जितसँगै ब्राजिलले अपराजित यात्रा कायम राखेको छ । छनोटको शीर्ष स्थानमा रहेको ब्राजिलले ४ खेलमा १२ अंक जोडेको छ । उरुग्वे ४ खेलमा ६ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।
अर्को खेलमा इक्वेडरले कोलम्बियालाई ६-१ ले पराजित गरेको छ । चिली भेनेजुएलासँग २-१ ले पराजित हुँदा पाराग्वे र बोलिभियाले २(२ गोलको बराबरी खेलेको छ । एजेन्सी
प्रकाशित मितिः २०७७ मंसिर ०३ बुधबार
Comments