काठमाडौं । फ्रेन्च ओपन टेनिसको उपाधि स्पेनी खेलाडी राफायल नाडालले जितेका छन् । विश्व नम्बर २ नाडालले चिरपरिचित प्रतिद्वन्द्वी नोभाक जोकोभिचलाई फाइनलमा पराजित गर्दै १३ औं पटक फ्रेन्च ओपनको उपाधि आफ्नो नाममा गरेका हुन् ।
गएराति सम्पन्न फाइनल खेलमा नाडालले सर्बियन खेलाडी जोकोभिचलाई ६-०, ६-२ र ७-५ को सेटमा पराजित गरेका हुन् । पहिलो र दोस्रो सेट एकतर्फी बनेको थियो भने तेस्रो सेटमा जोकोभिचले पनि खेलमा फर्कने प्रयास गरे यद्यपि जीत भने नाडालले नै हात पारे ।
क्ले कोर्टका बादशाह भनेर चिनिने नाडालको यो कीर्तिमानी २०औं ग्रान्डस्लाम उपाधि हो । योसँगै उनले रोजर फेडेररको २० ग्रान्डस्लामको कीर्तिमान बराबरी पनि गरेका छन् ।
सन् २००५ मा पहिलोपटक फ्रेन्च ओपन च्याम्पियन बनेयता नाडालले १६ वर्षको अवधिमा २००९, २०१५ र २०१६ बाहेक सबै संस्करणमा उपाधि जितेका छन् । फ्रेन्च ओपन टेनिस एकपटक मात्र जितेका जोकोभिचसँग भने १७ ग्रान्डस्लाम उपाधि रहेको छ ।
प्रकाशित मितिः २०७७ असोज २६ सोमबार
Comments