काठमाडौं । लण्डन क्लब चेल्सीलाई तीन नयाँ खेलाडी प्रिमियर लिगको दोस्रो खेलमा पनि उपलब्ध नहुने भएका छन् । लिगको दोस्रो खेलमा लिभरपुलबिरुद्ध उत्रदै गर्दा चेल्सीले फिटनेस र चोटका कारण नयाँ तीन खेलाडीलाई गुमाउनेछ ।
नयाँ तीनै जना खेलाडी प्रिमियर लिगको पहिलो खेलमा समेत चेल्सीमा थिएनन् । मुख्य प्रशिक्षक फ्राङ्क लाम्पार्डले समर ट्रान्सफरमा अनुबन्धन गरेका डिफेन्डर थियागो सिल्भा सहित वेन चिलवेल र हाकिम जियाच लिभरपुलबिरुद्धको खेलमा उपलब्ध नहुने बताए ।
उनले चेल्सीका मुख्य खेलाडी क्रिस्टियन पुलिसिक समेत एनफिल्ड क्लबबिरुद्ध मैदान नउत्रने प्रष्ट पारे । उनले पहिलो रोजाईका खेलाडीको बिषयमा जानकारी दिदै लिभरपुलबिरुद्ध मुख्य फरवार्ड टिमो वार्नर आफुसंग हुने प्रष्ट पारे ।
ब्राइटनबिरुद्ध लिगमा डेब्यु गर्ने क्रममा वार्नरले चोट बोकेका थिए । सोही कारण उनले दोस्रो खेल गुमाउन सक्ने बताईएको थियो । तर प्रशिक्षक लाम्पार्डले स्टामफोर्ड ब्रिजमा हुन खेलमा वार्नर उपलब्ध हुने बताए ।
‘वेन चिलवेल खेलका लागि तयार छैनन् । क्रिस्टियन पुलिसिक पनि खेलका लागि तयार छैनन् ।’ लाम्पार्डले भनेका छन् । ‘आशा गरौ, उनीहरुले अभ्यास गरिरहेका छन् । केही हप्तामा सफलता प्राप्त हुनेछ । हाकिम जियाच समेत खेलका लागि तयार छैनन् । तर वार्नर भने फिट छन् ।’ उनले भने ।
थियागो सिल्भाको बिषयमा बोल्दै लाम्पार्डले नयाँ सिजन ब्राजिली डिफेन्डरको ठुलो भूमिका हुने उल्लेख गरे । लाम्पार्डले भने, ‘थियागोले हामीसंग अभ्यास गरेका छन् । उनी पछिल्ला तीन, चार दिनदेखि हामीसंग छन् । हामी उनको फिटनेशमा काम गरिरहेका छौ । लिभरपुलका खेल उनका लागि निकै चाँडो आयो ।’
‘थियागो निश्चित रुपमा एक नेतृत्वकर्ता हुन् । उनले प्राकृतिक रुपमा त्यसलाई ल्याएका छन् । उनी त्यो भाषा बोल्दैनन् । हामी यस चिजमा निकै छिटो काम गरिरहेका छौ । तर हामीसंग धेरै खेलाडी छन्, जो बहुभाषी छन् । जसले उसलाई सहयोग गर्नेछन् ।’ लाम्पार्डले भने । चेल्सीले प्रिमियर लिगमा ब्राइटनलाई ३–१ ले हराउँदै सिजनको सुखद सुरुवात गरेको थियो । एजेन्सी
प्रकाशित मितिः २०७७ असोज ०३ शनिबार
Comments