काठमाडौं । टालियन च्याम्पियन युभेन्टसले आन्द्रेया पिर्लोलाई क्लबको नयाँ प्रशिक्षकका रुपमा नियुक्त गरेको छ । उनले बर्खास्त भएका माउरिजिओ सारीको स्थान लिने छन् ।
युभेन्टसले पूर्व मिडफिल्डर आन्द्रेयालाई २३ वर्षमुनिको टिमको प्रशिक्षकका रुपमा नियुक्त गरेको हप्ता दिनभित्रै सिनियर टिमको जिम्मा दिएको हो ।
युभेन्टसका पूर्व मिडफिल्डर आन्द्रेयाले क्लबका लागि खेलाडीका रुपमा चार पटक सिरी ए, एक पटक कोपा इटालिया र दुई पटक इटालियन सुपर कपको उपाधि जितेका छन् ।
इटालियन जाइन्ट युभेन्टसले सारीलाई एक सिजनमै बर्खास्त गरेको हो । क्लबलाई सिरी ए को उपाधि दिलाए पनि शुक्रबार राति भएको च्याम्पियन्स लिग अन्तर्गतको अन्तिम १६ को दोस्रो लेगमा लियोनसँग पराजित भएसँगै युभेन्टसले सारीलाई बर्खास्त गरेको हो ।
४१ वर्षका पिर्लोले युभेन्टससँग दुई वर्षको सम्झौता गरेका छन् । इटालीको राष्ट्रिय टिमका पूर्व मिडफिल्डर पिर्लोलाई युभेन्टसले २३ वर्षमुनिको टिमको प्रशिक्षकका रुपमा गएको जुलाई ३० मा नियुक्त गरेको थियो । एजेन्सी
प्रकाशित मितिः २०७७ साउन २५ आइतबार
Comments