काठमाडौं । लिभरपुलका कप्तान जोर्डन हेन्डरसनले प्रशिक्षक योर्गेन क्लोपले क्लबलाई प्रिमियर लिगको च्याम्पियन बनाउन गरेको योगदानलाई ब्यक्त गर्न नसक्ने बताएका छन् ।
उनले क्लबका प्रशिक्षक क्लोप लामो समय आफुहरुसंगै रहने विश्वास समेत ब्यक्त गरेका छन् ।लिभरपुलले ३० बर्षको प्रतिक्षापछि प्रिमियर लिगको उपाधि जितेको छ ।
बिहिबार चेल्सीले दोस्रो स्थानको म्यान्चेष्टर सिटीमाथि जित निकालेसंगै लिभरपुल ७ खेल अगावै लिग च्याम्पियन बनेको हो ।
लिभरपुल ७ खेल बाँकी रहदै लिगमा २३ अंकको अग्रता कायम गर्न सफल रह्यो । ‘हामी प्रशिक्षक, क्लब र शहरका लागि खेल्न चाहन्छौ ।’ हेन्डरसनले भनेका छन् । एक लामो अन्तरवार्तामा कप्तान हेन्डरसनले जित वा हारको अवस्थामा क्लोपको ब्यवहारको खुलेर प्रशंसा गरे ।
‘जब हामी जितेका हुन्छौ, तब उनी डान्सफ्लोरमा हुन्छन् । ईमान्दारीताका साथ भोज गर्छन् । जब हामी हारेको हुन्थ्यौ, जसरी उनी टिमलाई सम्हाल्थे, त्यो अविश्वसनीय हुन्थ्यो ।’ उनी भन्छन् ।
‘यही कारण हो, धेरै राम्रो लाग्छ । केही चिज कसैलाई फिर्ता दिन पाउँदा खुसी लाग्छ । विशेषगरी प्रिमियर लिगको उपाधि हरेकले लामो समयदेखि प्रतिक्षा गरिरहेका थिए ।’ उनले भने ।
क्लोपले सन् २०१५ मा लिभरपुलको कमान्ड सम्हालेका थिए । उनले ईङ्लिस टोलीबाट च्याम्पियन्स लिग, यूईएफए सुपर कप, फिफा विश्वकप र प्रिमियर लिगको उपाधि जितेका छन् ।
‘हामीले सबैभन्दा धेरै खेलाडीलाई यसको श्रेय दिनपर्छ, जो अद्भुत थिए । तर अन्तिममा हामीले प्रशिक्षकलाई धन्यवाद दिनुपर्छ ।’ हेन्डरसनले थपे ।
कप्तान हेन्डरसनले क्लबमा आएपछि क्लोपले सबै चिज परिवर्तन गरेको बताए ।
‘पहिलो दिन जसरी उनी आएका थिए । उनले जे गरे, त्यो अविश्वसनीय हो । क्लबको भित्रदेखि बाहिरसम्म उनले गरेर देखाए ।’ उनले भने, ‘उनले लिभरपुलका लागि कति गरे भनेर मैले पर्याप्त वर्णन गर्न सक्दिन, उनी यही छन् । आशा छ, उनी लामो समयसम्मका लागि हामीसंग यात्रा जारी राख्नेछन् ।’ एजेन्सी
प्रकाशित मितिः २०७७ असार १३ शनिबार
Comments