काठमाडौं । फ्रान्सेली स्टार केलियन एम्बाप्पे तीव्र गतिका फुटबलर बनेका छन् । पेरिस सेन्ट जर्मेन (पीएसजी)बाट ब्यवसायीक फुटबल खेलिरहेका एम्बाप्पले प्रिमियर लिग क्लबका स्टार फरवार्डलाई पछि पार्दै विश्वका तीव्र गतिका फुटबलर बनेका हुन् ।
एम्बाप्पेले आर्सनलका पियरिक ईम्रिक अबुमियाङ र लिभरपुलका मोहमद सलाहलाई पछि पार्दै १० खेलाडीको सूचिको शीर्ष स्थानमा अटाएका हुन् । फ्रान्सेली पब्लिकेशन फिगारोले सार्वजनिक गरेको विश्वका शीर्ष १० तीव्र गतिका खेलाडीमा एम्बाप्पे शीर्ष स्थानमा देखिए ।
एम्बाप्पेको गति ३६ किलो मिटर प्रतिघण्टा रहेको छ । उनी युरोपेली क्लब फुटबलका सर्वाधिक माग गरिएका खेलाडी हुन् । पछिल्लो समय प्रिमियर लिगको लिग लिडर लिभरपुलले उनलाई अनुबन्ध गर्न खोजिरहेको छ । तर उनी स्पेनिस क्लब रियल मड्रिड जान चाहन्छन् ।
यस्तै, एट्लेटिको विल्वाओका ईनाकी विलियम्स दोस्रो तीव्र गतिका फुटबलर बनेका छन् । उनलाई प्रिमियर लिग क्लब म्यान्चेष्टर युनाईटेडले अनुबन्ध गर्न चाहेको छ । तर उनले ला लिगा क्लबसंग लामो समयको सम्झौता गरेका छन् । उनको गति प्रतिघण्टा ३५ दशमलव ७ किलोमिटर रहेको छ ।
तेस्रो खेलाडीको रुपमा आर्सनलका अबुमियाङ रहेका छन् । उनी पछिल्लो समय ईमिरेट्स स्टेडियम छाड्न चाहन्छन् । उनले यस सिजनमात्र २० गोल गरेका छन् । उनलाई स्पेनिस महारथी क्लब बार्सिलोना र रियल मड्रिडले अनुबन्ध गर्न खोजिरहेका छन् । उनको गति प्रति घण्टा ३५ दशमलव ५ किलोमिटर रहेको छ ।
चौथो तीव्र गतिका फुटबलरको रुपमा बार्यन लिभरकुशनका करीम बेलरबी रहेका छन् । ३० वर्षका विङ्गरले यस सिजन क्लबबाट २२ खेलमा मात्र खेल्ने मौका पाए । उनको गति प्रतिघण्टा ३५ दशमलव २७ किलोमिटर रहेको छ । उनले यस सिजन ४ गोल गर्नुका साथै ५ गोलको अवसर समेत सिर्जना गरेका थिए ।
पाँचौ नम्बरमा म्यान्चेष्टर सिटीका डिफेन्डर काईल वाल्कर रहेका छन् । उनको गति प्रतिघण्टा ३५ दशमवल २१ किलोमिटर रहेको छ । उनले यस सिजन सिटीका लागि २६ खेल खेल्दै एक गोल समेत गरेका छन् ।
छैटौ नम्बरमा म्यान्चेष्टर सिटीका विङ्गर लिरो साने रहेका छन् । २४ वर्षका विङ्गर पछिल्लो समय जर्मन क्लब वायर्न म्युनिखसँग जोडिएका छन् । उनको गति प्रतिघण्टा ३५ दशमवल ०४ किलोमिटर रहेको छ ।
सातौ नम्बरमा लिभरपुलका फरवार्ड मोहमद सलाह रहेका छन् । यस सिजन लिभरपुलका लागि २० गोल गरेका उनले ८ गोलको अवसर समेत सिर्जना गरेका छन् । उनी योर्गेन क्लोपको टिमका सबैभन्दा तीव्र गतिका फुटबलर हुन् । उनको गति प्रतिघण्टा ३५ किलो मिटर रहेको छ ।
आठौं नम्बरमा फ्रेन्च विङ्गर किग्सले कोमान रहेका छन् । उनले यस समर ट्रान्सफरमा वायर्न जान अस्विकार गरेका थिए । बार्सिलोनाले समेत उनलाई अनुबन्धमा चासो राखेको छ । तर उनी म्यान्चेष्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलासंग खेल्न ईच्छुक छन् । उनको गति प्रतिघण्टा ३५ किलोमिटर रहेको छ ।
नवौं नम्बरमा वायर्नका अल्भारा ओड्रियोजोला रहेका छन् । उनी लोनमा रियल मड्रिडबाट वायर्न आएका हुन् । तर उनले वायर्नमा खासै मौका पाएनन् । उनले यस सिजन मात्र एक खेलमा अवसर पाएका थिए । उनको गति प्रतिघण्टा ३४ दशमलव ९९ किलोमिटर रहेको छ ।
शीर्ष १० टिम अटाएका तीव्र गतिका फुटबलर रियल मड्रिडका नाचो फर्नान्डेज रहेका छन् । उनले यस सिजन मात्र ९ खेलमा अवसर पाए । ३० बर्षिया खेलाडीले भर्खरै कोरोना भाईरसका कारण आफन्त समेत गुमाए । उनले सम्पुर्ण करियर स्पेनिस क्लबमै बिताएका छन् । उनको गति प्रतिघण्टा ३४ दशमलव ६२ किलोमिटर रहेको छ । एजेन्सी
प्रकाशित मितिः २०७६ बैशाख ५ शुक्रबार
Comments