काठमाडौं। नेपालमा सम्पन्न १३औं दक्षिण एशियाली खेलकुद सागका पदक विजेता खेलाडीको बैंक खातामा पूर्वघोषित नगद पुरस्कार पठाइएको राष्ट्रिय खेलकुद परिषद् राखेपले जनाएको छ।
जम्मा ४३५ पदक विजेता खेलाडीका लागि १७ करोड ५३ लाख रूपैयाँ पठाइएको छ। त्यसमध्ये ९२ पदक विजेताको खातामा तीन करोड ६३ लाख तथा ८७ खेलाडीको बैंक खातामा चार करोड ८२ लाख रूपैयाँ गत चैत मसान्तमै रकम पठाएको राखेपले जनाएको छ। बाँकी खेलाडीको पुरस्कार रकम आज पठाइएको हो। प्रशिक्षक र संघको पुरस्कार पठाउने क्रम भने अझै सकिएको छैन।
खेलाडीले दिएको खाता नम्बरमध्ये कतिपयको गलत भएका कारण रकम पठाउन समय लागेको राखेपले जनाएको छ।
१३औं सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९६ कांस्य गरी कूल २०७ पदक जितेको थियो। १३औं सागको उपलब्धि नेपालले दक्षिण एशियाली खेलकुदमा हासिल गरेको अहिलेसम्मकै ठूलो हो।
व्यक्तिगत स्पर्धामा स्वर्ण जित्नेलाई ९ लाख, रजतलाई ६ लाख र कांस्यलाई तीन लाख तथा टीममा स्वर्णलाई ६ लाख, रजतलाई चार लाख र कांस्यलाई दुई लाख रूपैयाँका दरले पुरस्कार रकम पठाइएको छ।
प्रकाशित मितिः २०७६ बैशाख ३ बुधबार
Comments