काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को औपचारिक उद्घाटन आज (आईतबार) हुदैछ । दक्षिण एसियाली खेलकुदको सबैभन्दा ठुलो खेल महोत्सव नेपालमा आज सुरु हुन लागेको हो ।
काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले भव्य समारोहकाबीच सागको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । उद्घाटन सत्र साँझ ५ बजेर १० मिनेटमा सुरु हुनेछ । उद्घाटन कार्यक्रम करिब ३ घण्टा चल्नेछ ।
उद्घाटन सत्रमा सहभागी सातै देशको मार्चपास सहित नेपालको कला, संस्कृति र पहिचान झल्कने सांस्कृतिक कार्यक्रम राखिएको छ । उद्घाटन सत्रमा झण्डै ७ हजार मानिस सहभागी गराउने कार्यक्रम रहेको समारोह समितिले जनाएको छ ।
प्रतियोगिताका खेलहरु काठमाडौं सहित पोखरा र जनकपुरमा सञ्चालन हुनेछन् । जनकपुरमा कुस्ती, पोखरामा ८ खेल र काठमाडौंमा १९ खेलहरु सञ्चालन हुनेछन् । १३ औ सागमा २७ खेल समावेश गर्ने भनिएपनि प्याराग्लाईडिङको सहभागी संख्या नपुगेपछि २६ खेल सञ्चालन गर्न लागिएको हो ।
सागमा ७ देशका ३ हजार बढी खेलाडीले ३ सय १७ स्वर्ण ३ सय १७ रजत र ४ सय ८१ कास्यका लागि प्रतिस्पर्धा गर्ने आयोजक राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले जनाएको छ । प्रतियोगिता सञ्चालन गर्न विभिन्न देशका २ हजार बढी अफिसियल खटिने सागको प्राविधिक समितिले जनाएको छ ।
सन् १९८४ मा नेपालबाट सुरु भएको साग झण्डै ४० बर्षपछि नेपालले तेस्रो पटक आयोजना गर्दैछ । नेपालले सन् १९९९ मा दोस्रो पटक सागको आयोजना गरेको थियो ।
प्रकाशित मितिः२०७६ मंसिर १५ आइतवार
Comments