काठमाडौं । मेलवर्न स्टार्सका मुख्य प्रशिक्षक डेभिड हस्सीले नेपालका ग्लोबल आइकन सन्दीप लामिछानेको खुलेर प्रशंसा गरेका छन् ।
प्रशिक्षक हस्सीले विश्व क्रिकेटमा सन्दीप क्षमतावान खेलाडी रहेको र उनले जुनै स्थितिमा पनि बलिङ गर्न सक्ने क्षमता रहेको बताएका छन् ।
अघिल्लो वर्ष सन्दीपले अद्भुत प्रदर्शन गरेका थिए । उनले यस बिचमा थप सुधार गरेका छन्, द सिड्नी मर्निङ हेराल्डसँग हस्सीले भने, सन्दीपसँग ओपनिङ, मिडल र डेथ ओभर जुनै समय पनि बलिङ गर्ने क्षमता छ ।
यस्तै प्रशिक्षक हस्सीले सन्दीपलाई यस सिजनको बिग बास लिग बीबीएल मा पुरा सिजन मेलवर्नबाट खेलाउन चाहेको बताएका छन् ।
म उनलाई यो सिजन पुरै समय क्लबसँग चाहन्छु, हस्सीले थपे, तर, बंगलादेश बंगलादेश प्रिमिएर लिग का लागि उनी जान चाहे मैले रोक्ने छैन । उनले जति कमाउन चाहान्छन् त्यसको बिचमा म आउने छैन ।
गत सिजन सन्दीपले मेलवर्न भन्दा पहिले बीपीएलमा अनुबन्धन भएका कारण बीबीएलको केहि खेल गुमाएका थिए । तर, यस पटक भने मेलवर्नले उनको बीपीएलको समय मिलाएर नै सम्झौता गर्ने हस्सीले बताएका छन् ।
गत सिजन बीबीएलमा मेलवर्नबाट डेब्यु गरेका सन्दीपले डेब्यु सिजन ७ खेलमा ११ विकेट हात पारेका थिए । फाइनल पुगेको मेलवर्न अन्त्यमा मेलवर्न रेनेगेड्ससँग पराजित हुँदा उपविजेतामा सिमित भएको थियो ।
यस सिजन पनि सन्दीपले मेलवर्नबाट खेल्ने सम्भावना बढी रहेको छ । हाल क्यारेबियन प्रिमियर लिगमा व्यस्त सन्दीपले औपचारिक सम्झौता गर्न बाँकी रहेको छ ।
प्रकाशित मितिः २०७६ भदौ २७ शुक्रबार
Comments